Monday, September 21, 2026

ताजा अपडेट

जुम्ला, रसुवा, १४ भदौ । तातो हिलोको लेदो र चिसो सुरुङको अँध्यारोभित्र भाइ प्रविण जीवितै होलान्, यही आशा र त्रासको दोसाँधमा जुम्लाको पाताराशी गाउँपालिका(५ का राम बुढा आइतबार बिहानै पुनः रसुवाको हाकुबेंसीस्थित माथिल्लो त्रिशूली(१ जलविद्युत् आयोजनाको सुरुङको मुखमा पुगे।

सुरुङको ढोकाबाट थोरै भित्र पसेर उनले आफ्नो २० वर्षीय भाइको नाम लिँदै बेस्सरी कराए—प्रविण…प्रविण.. तर, अँध्यारो सुरुङबाट कुनै उत्तर आएन, न त कुनै हलचल नै सुनियो। एकछिन टोल्हाएर सुरुङभित्रै हेरिरहेका राम अन्ततः निराश हुँदै पछि हटे। भाइलाई सकुशल भेट्ने झिनो आशा अझै मारिसकेका त छैनन्, तर समय बित्दै जाँदा सुरुङभित्रको अज्ञात अवस्थाले उनको छातीमा चिन्ताको पहाड थपिदिएको छ। भाइको सुखद खबर सुन्ने आसमा उनी बितेका पाँच दिनदेखि दिनहुँ सुरुङको मुखसम्म धाउने र खाली हात फर्किने गरिरहेका छन्।

आज बिहान पनि म भाइलाई खोज्न सुरुङको मुखमा पुगेँ। भाइलाई नामै काडेर बोलाएँ, तर केही आवाज आएन,ू रामले आइतबार बिहान आफ्नो वेदना पोखे, ूअहिले त आश पनि मर्न थालेको छ। सुरुङभित्रको अवस्था के छ, कसैलाई केही थाहा छैन।

शनिबार पनि उनी भाइ र अन्य साथीहरूको खोजीमा सुरुङभित्रै पसेका थिए। छातीसम्म आउने लेदो र बाढीले ल्याएको हिलो पन्छाउँदै उनी करिब एक सय मिटर भित्रसम्म पुगेर चिच्याए। तर, जलमग्न र हिलोले भरिएको सुरुङबाट उज्यालो र जीवनको कुनै संकेत मिलेन।

कक्षा १२ को पढाइ सकिएपछि प्रविण वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। काठमाडौंमा कागजात र भिसाको प्रक्रिया चलिरहँदा घरमा खाली बस्नुभन्दा केही खर्च जुटाउने सोचका साथ उनी एक महिनाअघि मात्रै दाइ रामको पछि लागेर रसुवा पुगेका थिए।

राम विगत एक वर्षदेखि सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको सोही आयोजनामा कार्यरत थिए। ूहाइड्रोमा कमाइ ठीकै हुने भएकाले विदेश जानुअघि अलिअलि खर्च जुट्छ भनेर भाइलाई पनि ल्याएको थिएँ, रामले भन्य, अहिले यही निर्णय मेरा लागि जीवनभरको पीडा बन्ने हो कि भन्ने डर लागेको छ।

बाढी आउनुअघिल्लो दिन राम काठमाडौं फर्किएका थिए। बाढी आएको दिन भाइ प्रविणसहित जुम्लाका करिब २५ जना मजदुरहरू ड्यामसाइड नम्बर २१६० को सुरुङभित्रै काम गरिरहेका थिए।

बाढी गएको पहिलो दिनदेखि नै रामले नेपाली सेना र स्थानीय प्रशासनसँग मजदुरहरूको तत्काल उद्धारका लागि निरन्तर गुहार मागिरहेका छन्। सेनाले उद्धारको प्रयास भइरहेको जनाए पनि प्राविधिक जटिलताका कारण उद्धार कार्यले तीव्रता पाउन सकेको छैन।

यसैबीच, प्राविधिक रूपमा दक्ष चिनियाँ टोली पनि उद्धारका लागि घटनास्थल पुगेको खबरले पीडित परिवारमा केही आशा जगाएको छ। ूछिट्टै उद्धार भइदिए सुरुङभित्रको वास्तविक अवस्था थाहा हुने थियो, रामले भने।

उता जुम्लास्थित घरमा रहेका वृद्ध बुवाआमा भाइको खबर पर्खिरहेका छन्। रामले घरमा ूखोजी कार्य भइरहेको छू भनेर बुवाआमालाई सम्झाइरहेका छन्। उता सम्पर्कविहीन भएका मजदुरका आफन्तहरूले छटपटाउँदै छिनछिनमा फोन गरेर वस्तुस्थितिको जानकारी लिइरहेका छन्।

सुरुङभित्र थुनिएका जुम्लाका २५ जना मजदुरको स्थिति अझै अज्ञात रहँदा रसुवाको हाकुबेंसीमा आफन्तहरूको रुवाबासी र व्यग्र प्रतीक्षा जारी छ।