Thursday, September 17, 2026

ताजा अपडेट

जाजरकोट, १ असोज । जिल्लाको भेरी नगरपालिका–७ स्थित व्यस्त व्यापारिक केन्द्र ‘दह बजार’मा अवैध रूपमा उत्पादन, बिक्री तथा वितरण हुँदै आएको घरेलु मदिरा नियन्त्रण गरी नष्ट गरिएको छ।

​अवैध मदिराका कारण समाजमा अशान्ति, घरेलु हिंसा र आपराधिक गतिविधि बढेको जनगुनासो आएपछि स्थानीय प्रशासन तथा प्रहरी टोलीले सक्रियता बढाएको हो। यसै क्रममा, इलाका प्रहरी कार्यालय जगतिपुरबाट खटिएको विशेष टोलीले दह बजारका विभिन्‍न होटल तथा भट्टी पसलहरूमा आकस्मिक खोजतलासी (सर्च अपरेसन) सञ्चालन गरेको थियो।

​इलाका प्रहरी कार्यालय जगतिपुरका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) कबिराम जैसीको कमाण्डमा खटिएको प्रहरी टोलीले दह बजार क्षेत्रका सम्भावित स्थानहरूमा कडा निगरानीका साथ छापा मारेको हो।

​सर्च अपरेसनका क्रममा प्रहरीले विभिन्‍न भट्टी पसलहरूबाट अवैध मदिरा बनाउन तयार पारिएको ठूलो मात्राको कच्चा पदार्थ र करिब २६० लिटर तयारी अवैध घरेलु मदिरा बरामद गरी आफ्नो नियन्त्रणमा लिएको छ।

​नियन्त्रणमा लिइएको मदिरा र कच्चा पदार्थलाई बिहीबार नै स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको प्रत्यक्ष रोहवरमा सर्वसार्वजनिक रूपमा पोखेर नष्ट गरिएको छ।

​जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, “अवैध मदिरा उत्पादन, भण्डारण र बिक्री–वितरणले सामाजिक विकृति फैलाउनुका साथै जनस्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाइएको छ।”

​सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारी

​समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले अवैध मदिराविरुद्धको अभियानलाई निरन्तरता दिने बताएको छ। अवैध मदिरामुक्त क्षेत्र बनाउन र सुरक्षित एवं सभ्य समाज निर्माणका लागि स्थानीयवासीबाट पूर्ण सहयोगको अपेक्षा प्रहरीले राखेको छ।

​प्रहरीले अवैध रूपमा मदिरा उत्पादन र बिक्री–वितरण नगर्न र यदि कसैले यस्ता गैरकानुनी कार्य गरेको पाइएमा नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायमा खबर गरी सहयोग गरिदिन समेत सर्वसाधारणमा अपिल गरेको छ।