जाजरकोट । अविरल वर्षाका कारण कर्णालीका विभिन्न भूभागसँगै जाजरकोटको नलगाड नगरपालिका क्षेत्रमा बाढी र पहिरोले ठूलो भौतिक तथा कृषि क्षेत्रमा क्षति पुर्याएको छ।
बहुला खोलामा आएको बाढीले सडकका विभिन्न भाग कटान गर्नुका साथै नलगाड–१ तर्फका केही घुम्तीहरूमा क्षति पुर्याएको छ। खहरे खोलामा आएको बाढीले सडक च्यातिएपछि यातायात सञ्चालन पूर्ण रूपमा ठप्प बनेको छ। जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख व्यापारिक तथा सडक मार्ग (भेरी करिडोर) अवरुद्ध हुँदा सर्वसाधारण र यात्रुहरूले सास्ती खेप्नुपरेको स्थानीय मोतीराम हमालले जानकारी दिए।
यसैबीच, वर्षापछि खसेको पहिरोका कारण नलगाड नगरपालिका–२, डाँडागाउँस्थित खर्कमा स्थानीय हजारी खत्रीको एक हल गोरु पुरिएर मरेका छन्। गोरु मरेपछि कृषक खत्रीको जीविकोपार्जन र खेतीपातीमा ठूलो आर्थिक धक्का पुगेको छ।
स्थानीय नारायणप्रसाद गौतमका अनुसार पहिरोले रामकुमार जैसी र दामोदर खत्रीको घर उच्च जोखिममा परेको छ। गाउँ वरपरको जमिन विभिन्न ठाउँमा चिराचिरा परेकाले थप पहिरो खस्ने डरले स्थानीयवासी त्रसित बनेका छन्। अविरल वर्षा जारी रहेकाले भिरालो जमिन र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यता, नलगाडस्थित स्वास्थ्य चौकी कैनाको भवनभित्र बाढी र हिलोपानी पसेपछि स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर बाधा पुगेको स्वास्थ्यकर्मी उत्तम चन्दले बताए। वर्षा र पहिरोका कारण समग्र नलगाड क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।






