जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले अवैध लागुऔषध (ब्राउन सुगर) को कारोबार तथा ओसारपसारविरुद्ध कडा कदम चाल्दै १६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चन्दननाथ नगरपालिका वडा नं. १० बोहोरा गाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
रातको समयमा छापा, घरभित्रै लुकिछिपी बसेको अवस्थामा फेला
प्रहरीका अनुसार, लागुऔषध (ब्राउन सुगर) मुद्दामा अनुसन्धानका क्रममा वारदात पश्चात् फरार रहेका चन्दननाथ न.पा. १०, बोहोरा गाउँका २४ वर्षीय केशब देवकोटा र गुठिचौर गाउँपालिका वडा नं. ०४ स्थायी घर भई सोही स्थानमा मामा घर बस्ने १८ वर्षीय नविन न्यौपाने आफ्नै घरवतमा लुकिछिपी बसिरहेको गोप्य सूचना प्रहरीले पाएको थियो।
उक्त सूचना पाउनासाथ २०८३ साल असोज ४ गते राति ११:३० बजे खटिएको प्रहरी टोलीले रीतपूर्वक घर खानतलासी गरेको थियो। खानतलासीका क्रममा कोठाभित्र प्लास्टिकमा बेरी पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला पारिएको थियो।
प्रहरीले बरामद गरेको उक्त पदार्थलाई मान्यता प्राप्त तराजुमा नापतौल गर्दा शुद्ध तोल १६ ग्राम ४६० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो।
जुम्ला प्रहरीको यस सक्रियताले क्षेत्रमा भइरहेका अवैध लागुऔषध कारोबार नियन्त्रणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।






