जुम्ला । जुम्लामा सार्वजनिक बिदाको दिन स्वीकृतिविना चलाइएका सात वटा सरकारी मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले जुम्ला बजार तथा आसपासका क्षेत्रमा गरेको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
बिदाको दिन सरकारी सवारीसाधन सञ्चालन गर्ने अनुमति पत्र नभएको, सवारी कागजात नबोकेको र ट्राफिक नियम पालना नगरेको पाइएपछि मोटरसाइकलहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीले भदौ २७ गते विज्ञप्ति जारी गर्दै सरकारी सवारीसाधनको दुरुपयोग रोक्न अनुगमन कडाइ गरिएको र नियन्त्रणमा लिइएका सवारीसाधनलाई नियमानुसार जरिवाना गराएर मात्र छाडिने स्पष्ट पारेको छ।






