
सुर्खेतको धरमघर, आज यो ठाउँ हाम्रो पुर्ख्यौली पहिचानको साक्षी बनेको छ। कथन छ, करिब १सय ५० वर्षअघि रोल्पा जिल्लाको हार्जुङ्ग भन्ने ठाउँबाट चेब्जु दिलबहादुर कामी यहीँ आएर बसोबास गर्नुभयो। त्यो समयको कथा आज पनि गाउँका बुढापाकाले सुनाउने गरेका छन्।
त्यो बेला, जब चेब्जु धरमघरमा बस्नुभयो, छेउको सिमता गाउँका जिम्मालहरूले उनलाई लखेट्न १२ विशे लौरो लिएर आएका थिए। तर चेब्जुको साहस, आत्मबल र दृढताले उनीहरूलाई लखेट्न असम्भव बनायो। उनी आफ्नो साहस र स्वाभिमानमा अडिग रहे, त्यसै कारण उनी स्थानीय इतिहासमा “हार्जुङ्गे” भनेर चिनिन थाले।
केही समयपछि दैलेख जिल्लाबाट हिरा सुब्बा मझुवा त्यही क्षेत्रमा आइपुगे। चेब्जुले खबर पाएर आफ्नै हातले घोडाको कोले बनाएर सुब्बालाई भेट्न गएका थिए। सुब्बाले सोधे — “हार्जुंङ्गे, तिमीलाई के चाहिएको हो?” चेब्जुले शान्त स्वरमा भने “दुई खोरको जहानलाई बस्न जग्गा दिनुहोस्।” तर सुब्बाले जग्गा नदिने निर्णय गरी उनलाई बाहिर पठाए।
चेब्जु बाहिरै शान्त भएर कुर्दै बसिरहेका थिए। केही समयपछि कटुवाल आएर सोधे “तिमी किन गएका छैनौ हार्जुङ्गे?” चेब्जुले दृढ स्वरमा जवाफ दिए, “मलाई अरू केही चाहिएको छैन, तर जग्गा नदिने भए सुब्बा सापको भुडी झिकेर आरन बस्ने काब्रे खलाती गराउन मन छ।”भने,

यो सुनेर सुब्बा अचम्मित भए। उनले भने “हार्जुंङ्गे साहसी रहेछ, यस्तो मान्छेलाई सम्मान दिनुपर्छ।” त्यसपछि सुब्बाले कागज लेखी, चेब्जुलाई जग्गा सहित पदवी दिने निर्णय गरे र उनलाई फर्काइयो।
तर जब यो कुरा सिमता गाउँका जिम्मालहरूले सुने, उनीहरू डराए “हार्जुंङ्गे अब शक्तिशाली हुन्छ, यसलाई दैलेख जान दिनुहुन्, हामी आफैं गएर जग्गा दर्ता गराएर ल्याउने।” त्यसरी उनीहरू गएर जग्गा दर्ता गराए, अनपढ हार्जुङ्गेलाई पदवी पाउनबाट बञ्चित गरे, र त्यही क्षणबाट हाम्रो वंशको धरमघरमा स्थायी बसोबास सुरु भयो।
दिल बहादुर कामिको छोरा नरि कामी, उनका छोरा खड्क बहादुर सुनार, र उनका छोरा धन बहादुर सुनार हुँदै हाम्रो परिवार निरन्तर यसै माटोसँग गाँसिँदै आएको छ। आज म धनबहादुर सुनारको राईलो छोरा, बिराज बिक त्यही पुर्ख्यौली घरको अगाडि उभिएको छु।
भित्तामा चिरा, छानो झुकेको, र समयको भारले थिचिएको त्यो घर मौन भएर मलाई हेरिरहथ्यो। त्यो घर जहाँ मैले पहिलोपटक संसार देखे, भत्किएको घरको छेउमा टाउकोमा हात राखे र बाल्यकालका सपना बुने ।

घाँस–दाउरा बोकेर गोठालोबाट फर्किँदा आमाले पकाउनु भएको लोकल साँग, सिस्नो, ढिडो र गुन्द्रुकको गन्धले मन तान्थ्यो। बाबा सम्झिए, काँधमा हालेर गोठालो लैजानुहुन्थ्यो र बाटोभरि गुनगुनाउनुहुन्थ्यो ठाडी भाका मलाई बाल्यकालमा बुझ्न गारो हुने `सिलोक´ हाल्नु हुन्थ्यो ।
“यो गाईले दुध दिने होइन सिङ अराको, जसको सिङ छैन उसको नाउ तिखे, जसको पुच्छर छैन उसको नाउ चौँरे, जसको घरमा लिरी गाई छैन, उसको खिर खाने ताई।”
त्यो स्वर अझै कानमा गुञ्जिरहेछ, समयको पर्खाल पार गरेर उनीहरू अझै बोलाइरहेका छन्।
त्यो बाबाले थाम्नुभएको विरासत, ठाडी आरन, तेर्सी दोकान पुग्दा आगोले गलिरहेको फलामको टुक्रा , बाबाको दाहिने हातमा घन, देब्रे हातमा सनासोले समातेको फलामको टुक्राले कुनै हतियारको आकार लिइरहेको मानस पटलमा घुमिरह्यो, घनले काँचो फलाम ठोकिरहेको आवाज कानमा गुन्जी रह्यो भैँसी गोठमा पुगे बाबाले दुईवटा घुँडाले गाबु च्यापेर भैँसी दोइरहेको,गाबुमा दुधको ग्वार ग्वार आवाज गुञ्जयमान भयो,
नजिकैको भत्किएको बाख्राको खोरमा ५०–६० वटा बाख्राको कराइरहेको आवाज पनि गुन्जी रह्यो। दुई हातले टाउको समातेर वनजङ्गल घन्किने गरी चिच्याएँ “म तिमी बिना उजाड भएको छु, मेरो जन्मभूमि।”

बाल्यकालका ती दिनहरू सम्झँदा आँखा रसाउँछन्। जुकाले टोकेको रक्ताम्य शरीर लुडिबुडी गर्दै साथीहरूसँग गुच्छा खेल, डन्डी बियो, लामलरी, बाघ चाल, बनका लराहरुको पिङ र चारी खेल्थ्यौँ। कसैले बासुरी बजाउँथ्यो, कसैले गुलेली बोकेर सिकारमा जान्थ्यो। पातको पिपरी बजाउँदै सुसुली हाल्दै माया, प्रेम, आत्मियता र सामीप्यता साटेका ती रमाइला क्षणहरू जीवनका सबैभन्दा मीठा दिन थिए।
आज त्यो सबै दृश्य मनमा मात्रै बाँकी छ। कोइलिको मधुर स्वर, हरियाली बन–जङ्गल, घाँस काट्ने ती डाले रुखहरूले पात हल्लाउँदै जिस्काइरहेका छन्। घर भत्किएको छ, भित्ताहरू चर्किएका छन्, तर जब म त्यस घरभित्र पसें, मनले फुसफुसायो
“यहीँ त मेरो आत्मा बस्छ”

धोको पुग्ने गरी रुने मन लाग्यो, आँखा रसाए, सम्झनाले मुटु च्याप्यो।जब हार्जुङ्गे शिक्षित हुँदै, धन आर्जन गर्दै, गाउँले जीवन त्यागेर सहर पसे। गाउँ खाली भयो, घर भत्कियो होला, तर त्यस घरसँग बाँचेका माया, हाँसो, र पुर्खाहरूको बलिदान कहिल्यै भत्किँदैनन्। सहरमा भए पनि गाउँको माटो, आमाबाबाको माया, र चेब्जु दिलबहादुरको साहसले सिंचेको त्यो धरती आज पनि मनको कुनामा बाँचिरहेको छ।
✍️ लेखक: बिराज बिक
(सुर्खेत जिल्ला, साविक नेटा गाविस–१, धरमघर)






