Monday, November 2, 2026

नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या करिब डेढ लाख हाराहारी देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको संख्या एक लाख ४२ हजार २२३ छ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार १२३ वटा होटेल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार ११० रहेका छन्। त्यस्तै, कोशीमा २५ हजार ८८७, मधेशमा ११ हजार ७४०, गण्डकीमा १६ हजार ९७६, लुम्बिनीमा २० हजार १५८ र सुदूरपश्चिममा आठ हजार २२८ छन्।

अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार ७४७ रहेको छ। यो होटेल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको संख्या हो।

यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको संख्या एक लाख छ हजार ४५९ छ। होटेल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा रु. २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रु. दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाखबराबर लागत रहेको र करिब रु तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्यबराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब रु. एक खर्ब नौ अर्ब २७ करोड एक लाखबराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ।

प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रु. पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ। यस्ता प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशत प्रतिष्ठानले ऋण नलिएको देखिएको छ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैरतारे होटेल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो।

होटेलमा रहेको कोठाको संख्या एक लाख १६ हजार १०० रहेको छ। जसमध्ये स्टार होटेलमा आठ हजार ४९६ कोठा, गैरतारे होटेल तथा लजमा एक लाख ७५, रिसोर्टमा तीन हजार ८२९ र होमस्टेमा तीन हजार ७०० कोठा रहेको अध्ययनले देखाएको छ।

हाल नेपालमा सञ्चालित होटेल तथा लजले एकैपटक २२ लाख ३४ हजार ८५२ जनालाई सेवा दिन सक्ने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ।