जुम्ला : जुम्ला सदरमुकाम खलंगामा रहेको कर्णाली प्रदेशकै ऐतिहासिक चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाका अवसरमा आज नयाँ लिंगो ठड्याइएको छ।
वर्षभरि सबैको रक्षा होस् भन्ने धार्मिक विश्वासका साथ हरेक वर्ष घटस्थापनाको दिन लिंगो फेर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार यस वर्ष पनि चन्दननाथ मन्दिरमा ५२ हाते र भैरवनाथ मन्दिरमा ४८ हाते विशाल लिंगो ठड्याइएको छ। वर्षमा ५२ हप्ता हुने भएकाले चन्दननाथ मन्दिरमा ५२ हाते नै लिंगो र त्यति नै हातको ध्वजा राख्ने गरिएको चन्दननाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो।
चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै जुम्लावासीले मन्दिरको पवित्र माटो घरमा लगेर घटस्थापना गर्ने र जमरा राख्ने मौलिक परम्परा रहिआएको छ।
यसैगरी, घटस्थापनाको दिन चन्दननाथ–भैरवनाथ मन्दिरमा प्रसिद्ध मार्सीधानको सिक चढाउने परम्परा पनि उत्साहका साथ मनाइएको छ। बालीनालीको उत्पादन वृद्धि होस्, अन्नको अभाव नहोस् र समाजमा सुख, शान्ति तथा समृद्धि कायम रहोस् भन्ने कामनाका साथ मार्सीधानको सिक चढाउने गरिएको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो।
विगतमा तत्कालीन कर्णाली अञ्चलका विभिन्न जिल्लाहरू जुम्ला, कालिकोट, हुम्ला र मुगुबाट आ-आफ्नै मौलिक सामग्रीहरू (जस्तै: बाबियो, घिउ, मह, ठेटुवा, राडीपाखी) ल्याएर लिंगो फेर्ने र पूजाअर्चना गर्ने प्रचलन थियो। समयक्रमसँगै पुराना सामग्री संकलनको परम्परा रोकिए पनि अहिले सुरक्षाकर्मी तथा स्थानीयको व्यवस्थापनमा यो परम्पराले निरन्तरता पाइरहेको छ।
घटस्थापनासँगै जुम्लामा दसैँको विशेष रौनक छाएको छ। व्यापार, अध्ययन तथा रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका सर्वसाधारण घर फर्किएका छन् भने गाउँघरमा आफन्तजनको भेटघाट र उत्साह बढेको छ।
संस्कृतिविद् आचार्यका अनुसार पुस्तौंदेखि निरन्तर चल्दै आएको यो परम्पराले दसैँलाई स्वागत गर्ने मात्र नभई स्थानीय इतिहास, आस्था र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने मजबुत आधार खडा गरेको छ।






