Sunday, November 1, 2026

जुम्ला, असोज २३ । विगत २५ वर्षदेखि कर्णालीको दुर्गम भूगोलबाट निरन्तर निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्दै आएका जुम्लाका ६५ वर्षीय ज्येष्ठ पत्रकार कर्णबहादुर भण्डारीलाई यस वर्षको ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ।

​शुक्रबार स्व. दीपबहादुर स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष शुभाकर विश्वकर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंको रोहवरमा बसेको पुरस्कार छनोट समितिको बैठकले भण्डारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यो पुरस्कारको पाँचौँ संस्करण हो।

​सीमित साधन, स्रोतका बीच २५ वर्षे पत्रकारिता यात्रा

सीमित स्रोत र साधनका बाबजुद विकट क्षेत्रमा रहेर जुम्लाको विकास, सुशासन, सामाजिक रूपान्तरण र पारदर्शिताका पक्षमा निर्भीक पत्रकारिता गर्दै आएका भण्डारीले नेपाल टेलिभिजनमा १८ वर्षभन्दा बढी समय सेवा गरिसकेका छन्। उनी विगत केही वर्षयता हिमालय टेलिभिजनमा आबद्ध भई समाचार संकलनमा सक्रिय छन्।

​प्रतिष्ठानका अनुसार उमेरले ६५ वर्ष नाघिसके पनि जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयका जानकार भण्डारी स्वयंमा जुम्ली पत्रकारिताको एक जिउँदो ‘संग्रहालय’ हुन्।

​१० हजार राशिको निजी क्षेत्रबाट स्थापित जुम्लाकै पहिलो पुरस्कार

कर्णाली क्षेत्रमा निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्ने क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जुम्लामै पहिलो पटक व्यक्तिगत तवरबाट यो पुरस्कार स्थापना गरिएको हो। १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार निकट भविष्यमै एक विशेष समारोह आयोजना गरी हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ।

​पुरस्कार घोषणा गर्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष शुभाकर विश्वकर्माले भने, “६५ वर्षको उमेरमा पनि भण्डारीजीको निरन्तर सक्रियता, उर्जा र हिम्मत आजका नयाँ पुस्ताका युवा पत्रकारहरूका लागि ठूलो प्रेरणाको स्रोत हो।”