जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२, ओदीमा पाइपजस्तो शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँदा एक १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। अर्का एक जना भने सामान्य घाइते भएका छन्।
हिमा गाउँपालिका–२ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइप ग्राइन्डरले काट्दा अचानक सो विस्फोट भएको हो।
विस्फोटमा परी १४ वर्षीय बालक बलबहादुर रोकायाको खुट्टामा गम्भीर चोट लागेको छ भने कमल थापा सामान्य घाइते भएका छन्।
गम्भीर घाइते बालकलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ।
वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र गोलीका छर्राजस्तै वस्तु भरिएको आशंका गरिएको छ। विगतमा द्वन्द्वकालका क्रममा सो घरमा माओवादी बसेको बुझिएकाले पुरानो विस्फोटक पदार्थ छुटेर रहेको हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, पाइपभित्र के–कस्तो पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
घटनाबारे थप अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। घटनाको विस्तृत विवरण र घाइतेको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।






