सुर्खेत/कालीकोट । कालीकोट-जुम्ला सडक खण्डको अवस्था सुधार तथा स्तरोन्नतिका लागि सरोकारवाला निकायले सक्रियता देखाएका छन्।
यसै क्रममा मिति २०८३ साल असोज २३ गते प्रतिनिधि सभाका माननीय सदस्य श्री ज्ञान बहादुर शाही, प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ.) सहितको जिल्ला सुरक्षा समिति र सुर्खेत तथा जुम्ला सडक डिभिजन कार्यालयका प्राविधिकहरूको संयुक्त टोलीले सो सडक खण्डको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।
निरीक्षणका क्रममा टोलीले कर्णाली राजमार्गअन्तर्गतको यो संवेदनशील सडक खण्डमा देखिएका प्राविधिक समस्या, खाल्डाखुल्डी तथा पहिरोको जोखिमबारे प्रत्यक्ष जानकारी लिएको छ। यात्रालाई सुरक्षित, सहज र द्रुत बनाउनका लागि आवश्यक बजेट व्यवस्थापन तथा मर्मतसम्भारका कामहरूलाई तीव्रताका साथ अगाडि बढाउन सडक डिभिजनका प्राविधिकहरूलाई निर्देशन दिइएको छ।
माननीय सांसद ज्ञान बहादुर शाहीले कर्णालीका जनताको जीवनरेखा (लाइफलाइन) को रूपमा रहेको यो सडक खण्डको दीर्घकालीन समाधान र स्तरोन्नतिका लागि उपल्लो निकायमा निरन्तर समन्वय र जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सडकको भौतिक अवस्था सुधार भएसँगै कर्णाली क्षेत्रको यातायात व्यवस्था चुस्त हुने र यात्रुहरूले भोग्दै आएको सास्ती हट्ने विश्वास लिइएको छ।






