Monday, November 23, 2026

जुम्ला, ५ मंसिर । जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडा निवासी भरतबहादुर स्वाँरले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । २०८३ साल मंसिर ५ गते शनिबार औपचारिक उम्मेदवारी घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले ‘समृद्ध चन्दननाथ नगरपालिका र सुखी जनता’ को सपना साकार पार्ने संकल्प व्यक्त गरेका हुन् ।

​करिब १४ वर्ष जापानमा काम गरेर फर्किएका स्वाँरले सुखद जीवनशैली त्यागेर आफ्नै मातृभूमिमा केही गर्ने उद्देश्यसहित नगरको नेतृत्व लिन अघि सरेको बताएका छन् । ‘दि अर्गानिक भ्वाईस’ पोडकास्टका सञ्चालक समेत रहेका उनले उम्मेदवारी घोषणासँगै विकास, सुशासन र रूपान्तरणका स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन् ।

​“पदभन्दा जिम्मेवारी ठूलो”

​घोषणा कार्यक्रममा बोल्दै स्वाँरले नगरप्रमुखमा अघि बढ्नुको ध्येय केवल पद प्राप्त गर्नु नभई समग्र नगरको विकास, सुशासन र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनु रहेको बताए । कुनै व्यक्ति, समूह वा राजनीतिक स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नगरवासीको साझा प्रतिनिधि बन्ने प्रतिबद्धता जनाउँदै उनले प्रतिबद्धता पत्रमा लेखेका छन्, “मलाई पदभन्दा जिम्मेवारी ठूलो लाग्छ, भाषणभन्दा परिणाम ठूलो लाग्छ र राजनीतिक स्वार्थभन्दा जनताको भविष्य ठूलो लाग्छ ।”

​फोहोर व्यवस्थापनलाई ‘विशेष प्राथमिकता’

​स्वाँरले नगरको मुख्य समस्याका रूपमा रहेको फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेका छन् । फोहोर संकलन, वर्गीकरण र विसर्जनका लागि उपयुक्त स्थान पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) तथा विज्ञहरूको परामर्शमा वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन प्रणाली लागू गर्ने उनको योजना छ । जथाभावी फोहोर फाल्ने अवस्था अन्त्य गर्दै सफा र व्यवस्थित नगर निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

​१० बुँदे विकास र सुशासनका एजेन्डा

​स्वास्थ्य र शिक्षा: सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य संस्थाको स्तरोन्नति, विपन्न तथा ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक तथा सीपमूलक शिक्षा, छात्रवृत्ति र प्रविधिमैत्री विद्यालय पूर्वाधार विकासमा जोड दिइएको छ ।

​रोजगारी, उद्यमशीलता र कृषि: युवालाई आफ्नै नगरमा रोजगारी, स्थानीय स्रोतसाधनमा आधारित साना तथा मझौला उद्योग, सहुलियतपूर्ण ऋण र तालिममार्फत वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घटाउने दीर्घकालीन योजना अघि सारिएको छ । स्याउ, ओखर, सिमी र आलु लगायत स्थानीय कृषि उत्पादनको व्यवसायीकरण, भण्डारण, प्रशोधन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने पहल गरिनेछ ।

​लागुऔषध नियन्त्रण र पर्यटन: लागुऔषध दुर्व्यसनविरुद्ध विशेष अभियान, सचेतना र पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ । चन्दननाथ मन्दिर, धार्मिक तथा ऐतिहासिक सम्पदा, जुम्लाको भाषा, संस्कृति, कला र पहिचानको संरक्षण गर्दै पर्यटनलाई स्थानीय रोजगारी र आम्दानीसँग जोड्ने योजना छ ।

​पूर्वाधार र सुशासन: गुणस्तरीय सडक, खानेपानी, विद्युत्, नाली, व्यवस्थित बजार, सार्वजनिक शौचालय, पार्किङ र विपद् व्यवस्थापन तथा उद्धार प्रणालीलाई प्रभावकारी बनाइनेछ । बजेट र खर्चमा पूर्ण पारदर्शिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, गुनासो सुन्ने संयन्त्र र हरेक निर्णयमा जनसहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।

​सामाजिक न्याय र डिजिटल नगर: युवाको सिर्जनशीलता, महिला उद्यमशीलता, दलित, विपन्न, अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान दिइनेछ । साथै घरबाटै सम्भव हुने सरकारी सेवा लिन सकिने गरी नगरका सेवा प्रवाहलाई डिजिटल र प्रविधिमैत्री बनाउने तथा विकास योजनाको अनुगमन र सार्वजनिक जानकारीलाई प्रविधिसँग जोडिनेछ ।

​“अबको लक्ष्य: समृद्ध चन्दननाथ, आत्मनिर्भर नगरवासी र उज्यालो भविष्य” भन्ने मूल नाराका साथ स्वाँरले युवादेखि ज्येष्ठ नागरिकसम्म र किसानदेखि उद्यमीसम्म सबैलाई नगर विकासको अभियानमा जोडिन आह्वान गरेका छन् । राजनीति समज सेवा हो। राजनीतिमा लागेर घर बनाउने होइन ।