Monday, November 23, 2026

जुम्ला । लामो समयको जग्गा विवाद र व्यवस्थापकीय अन्योल चिर्दै निर्माण सम्पन्न भएको ८ वर्षपछि अन्ततः जुम्ला बसपार्क सञ्चालनमा आएको छ । बसपार्क सञ्चालनमा आएसँगै सदरमुकाम खलंगाका साँघुरा सडकपेटीमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता हटेको छ भने यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्राको सहजता मिलेको छ ।

​कुन यातायात कम्पनीले बसपार्क सञ्चालन गर्ने भन्ने लामो समयदेखिको विवाद साम्य भई तिला कर्णाली यातायात सेवा प्रालिले सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएपछि बसपार्कले गति लिएको हो । २०७६ सालमा करिब १ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भए पनि प्रयोगविहीन बनेको बसपार्कबाट अहिले सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्मका लामो तथा छोटो दूरीका सवारीसाधन छुट्न थालेका छन् ।

​यसअघि बसपार्क सञ्चालनमा नआउँदा खलंगा बजार क्षेत्र नै अस्थायी पार्किङस्थल बनेको थियो । बस, ट्रक, जीप, टिपर र अटो सडकमै पार्किङ गरिँदा बजारको यातायात व्यवस्थापन अस्तव्यस्त हुनुका साथै दुर्घटनाको उच्च जोखिम थियो । तर, अहिले बसपार्ककै काउन्टरबाट टिकट काटेर सेवा लिन पाउँदा स्थानीय बासिन्दा र यात्रु उत्साहित छन् ।

​स्थानीय कृष्णबहादुर रोकाया भन्छन्, “सवारी चाप बढ्दै जाँदा सडकपेटीमै गाडी राख्ने समस्याले हैरान बनाएको थियो । अहिले बसपार्कमा चहलपहल बढेको छ, दुर्घटनाको जोखिम घटेको छ र सेवा पनि स्तरीय बनेको छ ।”

बसपार्क सञ्चालनका लागि जुगाडखोला सरसफाइ अभियन्ता उपेन्द्र बुढ्थापाको टोलीले चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निरन्तर दबाब दिँदै आएको थियो । “लामो दबाबपछि सफलता मिलेको छ, अब बजारको यातायात र सरसफाइमा धेरै सुधार आउनेछ,” अभियन्ता बुढ्थापाले बताए । गत असार १० गतेदेखि नै बसपार्क चलाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन । अन्ततः नगरपालिका, जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायीको संयुक्त पहलमा यो सम्भव भएको हो ।

​

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले लामो प्रयास र आलोचनापछि बसपार्क सञ्चालनमा ल्याउन सफल भएको बताइन् । अब सवारीसाधन अनिवार्य रूपमा बसपार्कबाटै छुट्नुपर्ने बताउँदै उनले भनिन्, “यदि अब पनि कसैले सडकपेटीमा जथाभावी पार्किङ गर्छ भने ट्राफिक र नगर प्रहरीले सवारी नियन्त्रणमा लिएर कडा कारबाही गर्नेछ ।” लामो समय प्रयोगविहीन हुँदा जीर्ण बनेका संरचनाको मर्मत तथा बाँकी पूर्वाधार निर्माणमा नगरपालिका जुटिसकेको उनले जानकारी दिइन् ।

​खानेपानी र बिजुलीको समस्या छिट्टै समाधान हुने

चन्दननाथ नगर विकास समितिको नाममा रहेको ३ हजार ३ सय ६५ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो बसपार्क कर्णाली प्रदेशको दोस्रो ठूलो सहर जुम्लाको यातायात व्यवस्थापनका लागि मेरुदण्ड मानिएको छ ।

​बसपार्कको व्यवस्थापकीय जिम्मेवारी पाएको तिला कर्णाली यातायात सेवा प्रालिका अध्यक्ष नरेश महतले यातायात सेवालाई थप नागरिकमैत्री बनाइने प्रतिबद्धता जनाएका छन् । “अहिले बसपार्कमा खानेपानी र बिजुलीको केही समस्या छ,” अध्यक्ष महतले भने, “केही दिनभित्रै ती समस्या समाधान गरेर यात्रुलाई पूर्ण रूपमा सुरक्षित र सहज सेवा प्रदान गर्नेछौं ।”