Monday, November 23, 2026

जुम्ला, मङ्सिर २ गते । जिल्ला प्रहरी कार्यालय, जुम्ला र मातहतका कार्यालयहरूले कात्तिक महिनामा सम्पादित विभिन्न शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा जनचेतनात्मक कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा जिल्लामा अपराध नियन्त्रण, लागुऔषधविरुद्धको अभियान र नागरिक सहायतालाई प्रभावकारी बनाउँदै विभिन्न सकारात्मक उपलब्धिहरू हासिल भएका छन्।

कात्तिक महिनामा जिल्लाभर जघन्य तथा गम्भीर अपराध, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध र आर्थिक अपराधलगायत विभिन्न शीर्षकमा कुल २६ वटा मुद्दा दर्ता भएका छन्। यसमध्ये ७ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने १९ वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालु मुद्दाका ३२ जना प्रतिवादीहरू (१ महिला र ३१ पुरुष) पक्राउ परेका छन्।

त्यस्तै, फैसला कार्यान्वयनतर्फ ३ जना प्रतिवादीहरूलाई पक्राउगरी ५ वर्ष २ महिना कैद र २५,००० जरिवाना असुल उपर गरिएको छ। लागुऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी गरिएको ‘स्विप अप्रेसन’ का क्रममा ब्राउन सुगर (४ ग्राम ९९० मिलिग्राम) बरामद गरिनुका साथै १६ जनालाई पक्राउ गरी ९ वटा मुद्दा दर्ता गरिएको छ।

शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन

जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन नियमित रूपमा मोबाइल, पैदल गस्ती, ग्रामीण गस्ती, एल.आर.पी., एस.आर.पी., चेकड र पिकट गरी कुल ३,०४१ पटक प्रहरी परिचालन गरिएको छ। यसैगरी, चेकजाँचको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने १०६ वटा सवारी साधनलाई कारबाही गरी १,०३,५००/- राजस्व दाखिला गरिएको छ।

समुदायमा अपराध न, न्यूनीकरण र जनचेतना जगाउने उद्देश्यले कात्तिक महिनामा विभिन्न शीर्षकमा ६५ वटा सचेतनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन्। यसमा लागुऔषधविरुद्ध, महिला हिंसा न्यूनीकरण, साइबर अपराध, बालविवाह, बहुविवाह, आत्महत्या र जातीय छुवाछुतजस्ता विषयहरू समेटिएका थिए। यी कार्यक्रमहरूमा हजारौँ नागरिकहरूको सहभागिता रहेको थियो।

नागरिक सेवा र गुनासो व्यवस्थापन

 प्रहरी कार्यालयको हटलाइन तथा डी.ए.को सम्पर्क नम्बरहरूमा कुल ११८ वटा कलहरू प्राप्त भएका छन्। नागरिक सहायता कक्षमा आएको रजिस्ट्रारमा दर्ता भए अनुसार कुल १,२०९ जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन्।   घरेलु हिंसासम्बन्धी प्राप्त ६ वटा उजुरीमध्ये ३ वटा मिलापत्र र ३ वटा अदालतमा पठाइएको छ।

प्रहरी कर्मचारीहरूको कार्यक्षमता र मनोबल उच्च राख्न कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवि दाहालको नेतृत्वमा  सिनियर प्रहरी अधिकृतसँग साता By साता तथा मासिक रूपमा बैठक बसी गुनासो सुन्ने र सम्बोधन गर्ने गरिएको छ। कार्यरत प्रहरी कर्मचारीहरूका लागि जीवनशैली तथा तनाव व्यवस्थापनसम्बन्धी ‘Motivational Class’ सञ्चालन गरिएको छ। उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा सम्मानित गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्य सुरक्षा निकाय, स्थानीय तह र न्यायिक निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आगामी दिनमा पनि शान्ति सुरक्षा, अपराध नियन्त्रण र जनसेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।