Monday, November 23, 2026

जुम्ला । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जुम्लाका होटल व्यवसायी नुर्बु लामाले गुठिचौर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । गुठिचौर–३ निवासी तथा जुम्ला विमानस्थल नजिकै रहेको कान्जिरोवा होटलका सञ्चालक लामाले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

​कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने लामाले टेलिफोन कुराकानीमा जानकारी दिएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले गुठिचौरलाई कृषि र पर्यटनको क्षेत्रमा नमूना गाउँपालिका बनाउने लक्ष्यसहित उम्मेदवारी दिन लागेको उल्लेख गरेका छन् ।

​आफूमा कुनै लोभलालच नरहेको र ‘झुटको खेती नगर्ने’ बाचा गर्दै लामाले गाउँपालिकावासीसँग साथ र सहयोगको अपेक्षा गरेका छन् ।

​आगामी फागुन, चैत वा वैशाख महिनामा स्थानीय तहको निर्वाचन हुनसक्ने चर्चासँगै जुम्लामा चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न आकांक्षीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।