जुम्ला, २ मंसिर । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका–५, जुम्ला बजारस्थित तिला गाउँपालिका–४ सापुल्ली बस्ने वर्ष २३ का हिमाल शाही र सोही ठाउँ निवासी वर्ष २१ का सुनिल कुमार सिंहलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारेको थियो। सोही क्रममा पक्राउ परेका हिमाल शाहीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
मान्यता प्राप्त तराजुमा नापतोल गर्दा कुल १८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत, जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।






