जुम्ला । कर्णालीको दुर्गम भूगोल र चिसो मौसमलाई छिचोल्दै जुम्लामा प्रविधि, नवप्रवर्तन र सामाजिक रूपान्तरणका दोहोरो सुकर्महरू एकसाथ अगाडि बढेका छन्। प्रविधिको ज्योति पुग्न नसकेका बस्तीमा रोबोटिक्सको व्यावहारिक सीप पुगेको छ।
गुठिचौर गाउँपालिका–५, झारज्वालास्थित त्रिभुवन माध्यमिक विद्यालयमा ‘रोबो युवा’ संस्थाको आयोजनामा सञ्चालित ‘प्रोजेक्ट प्रयास’ अन्तर्गतको १० दिने सीपमूलक प्रशिक्षण हालै सफलतापूर्वक सम्पन्न भएको छ।
सहरी तथा ग्रामीण विद्यालयबीचको डिजिटल ज्ञान र सीपको खाडल न्यूनीकरण गर्ने मुख्य उद्देश्यसहित सञ्चालित यो कार्यक्रम जुम्लाका २०० भन्दा बढी सामुदायिक विद्यालयहरूमा एक किसिमको नयाँ र ऐतिहासिक अभ्यास हो।
विद्यार्थीलाई रोबोटिक्स, व्यावहारिक इलेक्ट्रोनिक्स, कन्टेन्ट क्रिएसन, कला, अनलाइन सुरक्षा तथा साइबर जोखिम न्यूनीकरणलगायतका विषयमा गहन व्यावहारिक प्रशिक्षण दिइएको थियो। साथै, स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।
कक्षा ८ का विद्यार्थी प्रशान्त भण्डारी, कक्षा ९ की जुनतारा बुढाथोकी मगर र अंकित चौलागाईंले किताबको ज्ञानसँगै आफैँले केही नयाँ उपकरण तथा प्रविधि निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताएका छन्। उनीहरूले यस्ता जीवनोपयोगी सीपहरू विद्यालय तहको शिक्षा नीतिमै समेटिनुपर्ने जोड दिएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर भण्डारी र सहायक प्रधानाध्यापक रामराम रावललगायतले चिसो मौसममा काठमाडौंबाट आएर विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्न सहयोग गरेकोमा रोबो युवा संस्थालाई धन्यवाद दिएका छन्।
संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री नरेश भण्डारीले कर्णालीका विद्यार्थीमा थोमस एडिसनजस्तै वैज्ञानिक बन्ने अपार क्षमता रहेको उल्लेख गर्दै, आफूले दर्ता गरेको विज्ञान तथा प्रविधिसम्बन्धी विधेयकले प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्ने बताए।
रोबो युवा संस्थाकी अध्यक्ष सेलिना वैद्यले २०२४ जुनमा स्थापित संस्थाले ग्रामीण क्षेत्रका बालबालिकालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी आफैँ प्रयोग गर्ने र निर्माण गर्ने वातावरण बनाउन देशव्यापी रूपमा यस्ता कार्यशाला सञ्चालन गरिरहेको जानकारी दिइन्।
जुम्लाका बस्तीहरूमा एकतर्फ रोबोटिक्स र प्रविधिको माध्यमबाट डिजिटल भविष्यको निर्माण भइरहेको छ भने अर्कातर्फ सडक नाटकका माध्यमबाट अन्धविश्वास र कुरीतिविरुद्धको सामाजिक सचेतना फैलिइरहेको छ। यी दुवै प्रयासले जुम्लाका बालबालिका तथा युवाहरूलाई ज्ञान, सीप र आत्मविश्वासले सुसज्जित गर्दै समृद्ध कर्णालीको बलियो आधार तयार पारेका छन्।






