डोल्पा । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीमध्ये दुई जनालाई रुकुम पश्चिमबाट प्रहरीले पक्राउ गरेको छ। कारागारबाट भागेको चार दिनपछि उनीहरू मंगलबार बिहान आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। उनीहरू गएको शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर अन्य ६ जनासहित फरार भएका थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजेतिर खोली बगरबाट आठबिसकोट–९ राडीतर्फ आउँदै गरेको ‘कर्णाली प्रदेश ०२–००१ च ०८३१’ नम्बरको डबल क्याब बोलेरो जिपमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा जिपमा सवार उनीहरू भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनीहरू डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी हुन् भन्ने पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको छ। उनीहरूको खोजीका लागि चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो।
गत शुक्रबार राति डोल्पा कारागारबाट एकैपटक आठ जना कैदीबन्दी फरार भएका थिए। दुई जना पक्राउ परे पनि अन्य ६ जना भने अझै फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।






