Sunday, November 1, 2026

जुम्ला । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय जुम्लाको सहकार्यमा सञ्चालित ‘हुलाकमार्फत घरदैलोमै राहदानी पुर्‍याउने सेवा’ पछिल्लो समय निकै प्रभावकारी बन्दै गएको छ। शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको यो सेवाले दूरदराजका नागरिकलाई राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता, समय र अतिरिक्त खर्चको बचत गराइदिएको छ।

बितेका पाँच महिनामा जुम्लाका २२० जना नागरिकले घरमै बसेर राहदानी प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखा प्रमुख नरबहादुर बुढाका अनुसार जिल्ला हुलाक कार्यालयसँग भएको सम्झौता बमोजिम चालु आर्थिक वर्षको भदौ मसान्तसम्म मात्रै १९८ जनाको राहदानी घरदैलोमा पुर्‍याएर वितरण गरिएको छ।

यसअघि गत आर्थिक वर्षभरिमा ९७२ जनाले घरमै राहदानी सेवा प्राप्त गरेका थिए। चालु आर्थिक वर्षको सुरुआती दुई महिना ९साउन र भदौ० मा मात्रै १९८ जनाले यो सुविधा लिइसकेकाले सेवाग्राहीको विश्वास र प्रभावकारिता बढ्दै गएको पुष्टि हुन्छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार जिल्लामा राष्ट्रिय परिचयपत्र निर्माण कार्यले पनि तीव्रता पाएको छ। अहिलेसम्म ८ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन्।

सरकारी सेवालाई सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले सुरु गरिएको हुलाकमार्फत राहदानी वितरण गर्ने यो कदमले स्थानीय तहमा सुशासन र प्रशासनिक पहुँचको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।