Sunday, November 1, 2026

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक प्राविधिक कर्मचारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ।

​

​जुम्लाको पातारासी गाउँपालिकामा विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर एक प्राविधिक कर्मचारी गम्भीर घाइते भएका छन्। घाइते हुनेमा पातारासी गाउँपालिका–१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडी हुनुहुन्छ।

​गत बुधबार पातारासी वडा नम्बर १ स्थित वडा कार्यालय नजिकै विद्युत् मर्मत गर्ने क्रममा उहाँलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि पोलबाट खस्दा ऐडीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उहाँको स्वास्थ्य अवस्था निकै जटिल रहेको र हाल बोल्नसमेत नसक्ने स्थितिमा हुनुहुन्छ।

​दुर्घटनालगत्तै ऐडीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियो। तर प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि पनि अवस्थामा सुधार नआएपछि थप जटिल उपचारका लागि उहाँलाई नेपालगन्ज ‘रेफर’ गरिएको हो।

​प्रतिष्ठानको सिफारिसपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेर ४७ मिनेटमा नेपाली सेनाको ‘एनए ०६५’ (NA 065) नम्बरको हेलिकोप्टरमार्फत उद्धार गरी साँझ ४ बजेर १७ मिनेटमा नेपालगन्ज पुर्‍याइएको हो। घाइते ऐडीको हाल नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ।