Sunday, November 1, 2026

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ मा यस वर्षको विजया दशमीअघि धान नकाट्न सम्पूर्ण वडावासीलाई अनुरोध गरिएको छ। स्थानीय वन उपभोक्ता समितिको मिति २०८३ असोज १८ गते बसेको बैठकले कृषकहरूले लगाएको धान बाली भित्र्याउने समयबारे छलफल गर्दै बडादसैँपछि मात्रै एकमुष्ट रूपमा धान काट्ने सर्वसम्मत निर्णय गरेको हो।

​बालीनालीको सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै वडा कार्यालयले तोकिएको क्षेत्रभित्र आफ्ना पशुचौपाया खुला नछाड्न (छाडा नगाड्न) समेत कडा निर्देशन दिएको छ। निर्णयको बेवास्ता गरी अघि नै धान काटेमा वा छाडा चौपाया छाडेमा बैठकको निर्णय र प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने वडा कार्यालयले जनाएको छ।

​निर्णय कार्यान्वयनका लागि वडाले निश्चित चार किल्ला क्षेत्रसमेत तोकेको छ। पूर्वमा चिलढुङ्गा, पश्चिममा उधेरी खोला, उत्तरमा तिला नदी र दक्षिणमा छिना लाग्न, यी चार किल्लाभित्र गाई, भैँसी, भेडा तथा बाख्राजस्ता चौपाया नछाड्न विशेष अपिल गरिएको छ।

​यस विषयमा ध्यान आकर्षण गराउँदै गुठीचौर गाउँपालिका वडा नम्बर ५ (देपालगाउँ) का वडा अध्यक्ष कमलबहादुर महतले​”सामूहिक निर्णय र अनुशासनले नै गाउँको कृषि बालीको संरक्षण हुन सक्छ। दसैँअघि धान नकाट्ने र तोकिएको क्षेत्रभित्र चौपाया नछाड्ने निर्णय सम्पूर्ण वडावासीको हितका लागि लिइएको हो। सबै गाउँवासीहरूले यो निर्णयलाई जिम्मेवार भएर पालन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। यदि कसैले निर्णयको अटेरी गरेमा बैठकको निर्णय र कानुनबमोजिम कारबाही गर्न हामी बाध्य हुनेछौँ।”

​वडा कार्यालयले सम्पूर्ण देपालगाउँ तथा वरपरका बासिन्दाहरूलाई सूचनाको पूर्ण पालना गरी सांस्कृतिक पर्व दसैँलाई भव्यताका साथ मनाउन र बालीनाली जोगाउने कार्यमा सहयोग पुर्‍याउन आह्वान गरेको छ।