Sunday, November 1, 2026

जुम्ला : जुम्ला सदरमुकाम खलंगामा रहेको कर्णाली प्रदेशकै ऐतिहासिक चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाका अवसरमा आज नयाँ लिंगो ठड्याइएको छ।

​वर्षभरि सबैको रक्षा होस् भन्ने धार्मिक विश्वासका साथ हरेक वर्ष घटस्थापनाको दिन लिंगो फेर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार यस वर्ष पनि चन्दननाथ मन्दिरमा ५२ हाते र भैरवनाथ मन्दिरमा ४८ हाते विशाल लिंगो ठड्याइएको छ। वर्षमा ५२ हप्ता हुने भएकाले चन्दननाथ मन्दिरमा ५२ हाते नै लिंगो र त्यति नै हातको ध्वजा राख्ने गरिएको चन्दननाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो।

​चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै जुम्लावासीले मन्दिरको पवित्र माटो घरमा लगेर घटस्थापना गर्ने र जमरा राख्ने मौलिक परम्परा रहिआएको छ।

 यसैगरी, घटस्थापनाको दिन चन्दननाथ–भैरवनाथ मन्दिरमा प्रसिद्ध मार्सीधानको सिक चढाउने परम्परा पनि उत्साहका साथ मनाइएको छ। बालीनालीको उत्पादन वृद्धि होस्, अन्नको अभाव नहोस् र समाजमा सुख, शान्ति तथा समृद्धि कायम रहोस् भन्ने कामनाका साथ मार्सीधानको सिक चढाउने गरिएको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो।

​विगतमा तत्कालीन कर्णाली अञ्चलका विभिन्न जिल्लाहरू जुम्ला, कालिकोट, हुम्ला र मुगुबाट आ-आफ्नै मौलिक सामग्रीहरू (जस्तै: बाबियो, घिउ, मह, ठेटुवा, राडीपाखी) ल्याएर लिंगो फेर्ने र पूजाअर्चना गर्ने प्रचलन थियो। समयक्रमसँगै पुराना सामग्री संकलनको परम्परा रोकिए पनि अहिले सुरक्षाकर्मी तथा स्थानीयको व्यवस्थापनमा यो परम्पराले निरन्तरता पाइरहेको छ।

​घटस्थापनासँगै जुम्लामा दसैँको विशेष रौनक छाएको छ। व्यापार, अध्ययन तथा रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका सर्वसाधारण घर फर्किएका छन् भने गाउँघरमा आफन्तजनको भेटघाट र उत्साह बढेको छ।

​संस्कृतिविद् आचार्यका अनुसार पुस्तौंदेखि निरन्तर चल्दै आएको यो परम्पराले दसैँलाई स्वागत गर्ने मात्र नभई स्थानीय इतिहास, आस्था र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने मजबुत आधार खडा गरेको छ।