जुम्ला । नेपाली कम्युनिस्ट पार्टी हिमा गाउँपालिका, जुम्लाले सञ्चालन गरेको ‘हिमा जनसंवाद अभियान’ मार्फत संकलित जनताका सुझाव, गुनासा तथा स्थानीय समस्याहरू समेटिएको ध्यानाकर्षण पत्र गाउँपालिकालाई बुझाइएको छ।
भदौ ६ गतेदेखि सञ्चालन गरिएको अभियानका क्रममा हिमा गाउँपालिकाका विभिन्न बस्ती तथा समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता, सुझाव र अपेक्षा संकलन गरिएको थियो। अभियानबाट प्राप्त जनआवाजलाई समेटेर तयार पारिएको ध्यानाकर्षण पत्र गाउँपालिकालाई बुझाइएको हो।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा अभियानका कमाण्डर तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, हिमा गाउँपालिका २०७९ काे निर्वाचनमा अध्यक्षका प्रत्यासी अम्मराज शाही (अम्मरजंग) ले नागरिकबाट संकलित सुझाव तथा समस्याहरू समेटिएको ध्यानाकर्षण पत्र वाचन गरी सुनाउनुभएको थियो। उहाँले जनताका वास्तविक समस्या र आवश्यकतालाई स्थानीय सरकारसम्म पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउँदै नागरिकका सरोकारलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जनसंवाद अभियानले सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूका समस्या, सुझाव र अपेक्षा बुझ्ने अभियानले स्थानीय तह र नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष शाहीले अभियानलाई जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका वास्तविक समस्या पहिचान गर्ने महत्वपूर्ण पहलका रूपमा लिँदै यस्तो प्रकृतिको कार्यक्रम देशभरमै उदाहरणीय रहेको बताउनुभयो।
जनसंवादका क्रममा नागरिकले शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, खानेपानी, कृषि, रोजगारी, विकास निर्माणलगायत स्थानीय सरोकारका विभिन्न विषयमा आफ्ना समस्या तथा सुझावहरू राखेका थिए। ती विषयलाई व्यवस्थित रूपमा संकलन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको आयोजकले जनाएको छ।
नेपाली कम्युनिष्ट पार्टी हिमाले नेता शाहीकाे नेतृत्वमा एक महिना देखि गाउँ गाउँमा पुगेर जनसंवाद गरेकाे थियाे । सम्बादकाे क्रममा नागरिकका समस्या, गुनासाे, विकास निर्माणमा सुधार्नुपर्ने बिषय सुझाब दिएका थिए । जन संम्बादमा जनताका गुनासा र विकास याेजनाका माग प्रतिवेदन तयार पारेर गाउँपालिकालाई बुझाईकाे छ ।
जनताका समस्या घरदैलोमै पुगेर सुन्ने, सुझाव संकलन गर्ने र सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हिमा जनसंवाद अभियानले स्थानीय नागरिकका आवाजलाई सार्वजनिक सरोकारको विषय बनाएको आयोजकको भनाइ छ।
अभियानमार्फत संकलित सुझाव तथा समस्यालाई आगामी दिनमा सम्बन्धित निकायले नीति, योजना र कार्यक्रम निर्माणमा समेट्दै कार्यान्वयनमा लैजानुपर्नेमा समेत जोड दिइएको छ।






