अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर भएको हो ।
अध्यक्ष सिलवालले नपाएको अहोदा पाएँ भन्दै झुट्टा विवरण दिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाशमा हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल नै रहेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरूपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको भन्दै उजुरी परेको थियो।
अख्तियारले सिलवालमाथि अनुसन्धान गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ फागुन २४ गते नेपाली नागरिकता लिएको खुलेको हो। उक्त नागरिकता लिँदा १६ वर्ष उल्लेख भएको, काठमाडौंबाट ६६÷ वैशाख १७ गते जारी भएको प्रतिलिपिमा जन्ममिति २०१६ कात्तिक २२ गते उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयबाट जारी भएको डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख भएको देखिएको थियो ।
सिलवालले स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल)मा समते ट्रान्क्रिप्टको जन्ममिति उल्लेख गरेको अख्तियारको आरोप छ। अध्यक्ष सिलवाल २०४३ साल साउन १ गते रा.प तृतीय श्रेणी पदमा नियुक्ति लिएका थिए। त्यस्तै सिलवालले २०७३ साउन १५ गते निजामति सेवाबाट बिदा भएका थिए। तर सिलवालले बहाल रहेकै बेलामा कूटनीतिक राहदानी, विशेष राहदानी लिनका लागि भरेको विवरणमा भने २०१८ कात्तिक २४ गतेलाई जन्ममिति कायम गरेको अख्तियारले जनाएको छ।






