जुम्ला ; जेष्ठनागरिक संघ जुम्लाको अध्यक्षमा तीर्थराज भारती सहित कार्य समितिनै निर्विरोध चयन भएका छन् । आईतबार सम्पन्न दोस्रो चुनावी साधारण सभाबाट अध्यक्षमा भारतीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता नन्द बहादुर खत्रीले बताउनुभयो । कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि सबै पदमा निर्विरोध घोषणा गरिएको हो ।
उनका अनुसार उपाध्यक्ष (पुरुष) भवानी प्रसाद न्यौपाने,उपाध्यक्ष (महिला) धनमाया कठायत,सचिव तुलराम न्यौपाने,सह–सचिवमा मिम बहादुर महत,कोषाध्यक्षमा हरि बहादुर महत निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत तथा अधिवक्ता खत्रीले कर्णाली मिसनलाई जानकारी दिनुभयो । सहायक मतदान अधिकृतका रुपमा मधुराज न्यौपाने खटिएका थिए। पदाधिकारीदेखि सदस्य सम्म सबै सर्वसम्मत भएको न्यौपानेले बताउनुभयो ।
१९ सदस्यीय कार्यसमिति मध्य तिला,हिमा र सिंजा गाउँपालिकामा मात्रै सदस्य खाली रहेको छ । अन्य पाँच पालिकाको जेष्ठ नागरिकको प्रतिनिधित्व हुने गरि पद बाँडफाँड गरिएको छ । यस अघि तदर्थ समितिको अध्यक्ष भएपनि तिर्थराज भारती अहिले निर्वाचन प्रक्रियामा गई निर्विरोध अध्यक्ष बनेका हुन् । यो कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ । निर्वाचित पदाधिकारीको सपथ ग्रहण र प्रमाण पत्र वितरण कार्यक्रम सोमबार दिउँसो १ बजे राखिएको मुख्य निर्वाचन अधिकृत खत्रीले जानकारी दिनुभयो ।
जेष्ठ नागरिक संघले जिल्ला भरीका जेष्ठनागरिकहरुको सम्मान र अधिकारका लागि वकालत गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष तीर्थराज भारतीले जिल्लाका सबै पालिकाका जेष्ठनागरिक संघ स्थापना गर्ने,सबै पालिका संग समन्वय गरि जेष्ठनागरिक केन्द्रित कार्यक्रम विनियोजन गर्न लगाउने आफ्ना मुख्य प्रथामिकता रहेको बताएका छन् ।






