Monday, November 2, 2026

जिल्ला स्तरीय दलित पुरुष फुटबल प्रतियोगिताको उपाधी तिला गाउँपालिका–३ कुडारी स्थित देउती कैलाश युवाक्लवले जितेको छ । फाइनल खेलमा तातोपानी गाउँपालिका–६ हियाखोलाको समाज चेतना युवा क्लवलाई पेनाल्टी सुटआउटमा २ गोलका विरुद्ध देउती कैलाश युवाक्लवले ३ गोल गदै विजयी भएको हो ।

खेलमा दुवै क्लबले एक÷एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा देउती कैलाश युवा क्लबले ३ गोल प्रहार गरी विजयी भएको छ । दलित सेवा संघ जुम्ला शाखाले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र दलित एकताका लागि खेलकुद भन्ने नारासहित जिल्ला स्तरीय दलित खुला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रथम विजयी युवा क्लबलाई ट्रफी, मेडल, प्रमाण पत्रसहित६६ हजार ६७० रुपियाँ र दोस्रो हुने अर्थात उपविजेता युवा क्लबलाई ३३ हजार ३सय ३५ रुपियाँ पुरुस्कार प्रदान गरिएको दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपालीले बताए । नेपाली सेनाको टुडिखेल मैदानमा ६ दिनसम्म सञ्चालन भएको फुटबल प्रतियोगितामा जिल्लाभरबाट १७ वटा टिम सहभागी रहेको दलित सेवा संघ जुम्लाले जनाएको छ ।