Tuesday, November 3, 2026

जुम्ला : पुरानो पुस्ता जस्तै मनोरञ्जनात्मक गित हराउँदै नयाँ पुस्तामा पप गितसंगितले आक्रमण गरेको छ । पहिलाको जस्तो सबैलाई रमाइलो दिने खालका परम्परागत शैली हराएको बुढापाकाले बताउँछन् ।

जुम्लामा पछिल्ला वर्ष देउसी–भैलोको मौलिकता हराउँदै गएको गुनासो बढ्दो छ । मागल, चुटकिलासहित पुराना नाच नाचेर खेलिने देउसी–भैलो पछिल्लो समय हराउँदै गएको हो । मौलिक संस्कृतिसहितको देउसी–भैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने वर्षेनि हराउँदै गएको पाको पुस्ताको गुनासो छ ।

 

तिहार पर्वसँग मादल, बासुरी, पुरानो भाका लगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर हिजो आज र्‍याप, पपमा युवायुवतीले देउसी–भैलो खेल्दा बुढापाकाले खिन्नतता व्यक्त गर्ने गरेका छन् । गुठिचौर गाउँपालिका–२ का ६८ वर्षीय धनबहादुर बोहराले परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिएको भनाइ छ ।’

गुठिचौर गाउँपालिका–५ का देबराज धितालले अरूको देखासिकीका कारण हाम्रो मौलिकता हराएको गुनासो गर्नुभयो । बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार गर्नुभयो ।