राम प्रकाश बिक, जुम्ला, १६ भदौ। रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो टटीय क्षेत्रमा मिति २०८३ भाद्र १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जुम्लाको गुठीचौर गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। उक्त घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ भने घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
गाउँपालिका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाद्वारा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, विपदबाट प्रभावित गाउँपालिका निवासीहरूको उद्धार, राहत तथा पुनस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो। मिति २०८३ साल भाद्र १६ गते बसेको गाउँपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम जम्मा रु १२,६७,३४८ (बाह्र लाख सतसठ्ठी हजार तीन सय अचालिस) प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
उक्त कोषका लागि विभिन्न क्षेत्रबाट योगदान जुटेको छ। जसमा जनप्रतिनिधिहरूको तर्फबाट ४९ हजार ६ सय २५ रुपैयाँ, कर्मचारीबाट ४३ हजार ५ सय २५ रुपैयाँ, शिक्षकबाट २ लाख ८४ हजार ९ सय ४८ रुपैयाँ र गाउँपालिका विपद व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ छुट्याइएको छ। यी सबै रकम जोड्दा कुल १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ हुन आउँछ।
यसैबीच, गुठीचौर गाउँपालिकाले आफ्ना नागरिकहरूका लागि अर्को महत्त्वपूर्ण राहत घोषणा समेत गरेको छ। गाउँपालिकाका नागरिकहरूको हकमा जनही ७५ हजार रुपैयाँका दरले जम्मा ९ जनालाई कुल ६ लाख ७५ हजार रुपैयाँ खोज तथा उद्धारका लागि एकाघरका सदस्यलाई उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा प्रष्ट पारिएको छ।
विपदको यस दुःखद घडीमा प्रभावित नागरिकहरूप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै, उद्धार, राहत तथा पुनस्थापनाको यो अभियानमा स्थानीय निकायको तर्फबाट सहयोग, समन्वय र सहकार्यका लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाइएको छ। साथै यस कार्यमा जोडिन सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरिएको छ।






