Friday, October 9, 2026

जुम्ला। भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि कर्णालीको जुम्लाबाट ऐक्यबद्धता प्रकट भएको छ। विपद्को यस घडीमा जुम्लाका स्थानीय तह, जनप्रतिनिधि तथा निजी क्षेत्रले आर्थिक सहयोगको घोषणा गरेका छन्।

गुठिचौर गाउँपालिकाले बाढीपीडितका लागि कुल १९ लाख ४२ हजार ३ सय ४८ रुपैयाँ सहयोग गर्ने भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँ कार्यपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी, शिक्षक र गाउँपालिकाको विपद् कोषबाट संकलन गरिएको हो।

आफ्ना नागरिकको खोज(उद्धारका लागि गाउँपालिकासँग सम्बन्धित ९ जना प्रभावित नागरिकका लागि प्रतिव्यक्ति ७५ हजारका दरले कुल ६ लाख ७५ हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउँदै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्। यस्तै, प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले संकटका बेला सबै पक्षबीचको समन्वय आवश्यक रहेको उल्लेख गरे।

पातारासीका जनप्रतिनिधिको एक महिनाको सेवा(सुविधा राहतमा
यसैगरी, जुम्लाकै पातारासी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको पूरा सेवा(सुविधा बाढीपीडितको राहतका लागि दिने निर्णय गरेका छन्। सो निर्णयबारे गाउँपालिकाका सूचना प्रविधि अधिकृत तुलबहादुर बोहोराले जानकारी गराएका हुन्।

स्थानीय तहसँगै निजी क्षेत्रले पनि सहयोगको हात अघि बढाएको छ। उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष एवं सनलाइन इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक बालकृष्ण बुढाले व्यक्तिगत तर्फबाट ५५ हजार ५ सय ५५ रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।

हिमाली जिल्ला रसुवामा भएको जनधनको ठूलो क्षतिप्रति दुख व्यक्त गर्दै कर्णालीको जुम्लाबाट देखिएको यो सामूहिक ऐक्यबद्धताले राहत, उद्धार र पुनःस्थापना अभियानमा महत्त्वपूर्ण बल पुर्‍याउने विश्वास लिइएको छ।