Friday, October 9, 2026

जुम्ला, १४ भदौ । जुम्लामा कर्णाली प्रदेशकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। गाईजात्राका दिनदेखि सुरु भई श्रीकृष्ण जन्माष्टमीको भोलिपल्टसम्म मनाइने यो जात्राको पहिलो दिन आज सदरमुकाम खलंगामा गाईजात्रा निकालिएको छ।

दिवंगत आफन्तको सम्झना र आत्माको चिरशान्तिको कामना गर्दै मनाइने यो जात्रामा एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा मानिसलाई गाईका रूपमा सिङ्गारेर वा गाईलाई नै बजार परिक्रमा गराउने परम्परा छ। श्रद्धालुहरूले फलफूल, दही र चिउरा दान गर्दै चन्दननाथ र भैरवनाथ मन्दिर क्षेत्र परिक्रमा गरेका छन्।

वि।सं। १९५३ देखि निरन्तर मनाइँदै आएको यो जात्रा काठमाडौँबाट व्यापारका सिलसिलामा जुम्ला पुगेका नेवार समुदायले भित्र्याएका हुन्। सुरुवातमा नेवार समुदायमा मात्र सीमित यो पर्व अहिले भने समग्र जुम्लाबासीको साझा पहिचान र संस्कृति बनेको छ।

जात्राको मुख्य आकर्षण मानिने १० देखि १२ किलो तौल भएको पितलको ऐतिहासिक लाखे मकुण्डो र ठाग्रो नाचकै बीच प्रदर्शन गरिएको छ। जात्रा अवधिभर रोपाइँ जात्रा, मिम बादशाह जात्रा, पल्टन जात्रा र बाघ(भालु जात्राजस्ता थुप्रै सांस्कृतिक झाँकीहरू देखाइनेछ। कर्णालीका पाँचै जिल्लासहित सुर्खेत, नेपालगन्ज र काठमाडौँबाट समेत दर्शक आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन सादा र पोसाकसहितका प्रहरी परिचालन गरिएको छ। श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण जन्मको दृश्य देखाइने र त्यसको भोलिपल्ट लाखे मारी विजय रथयात्रा निकालेपछि यो लामो जात्रा समापन हुनेछ।