जुम्ला, १४ भदौ | रसुवाको नेपाल–चीन सीमा क्षेत्र भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि जुम्लावासी जुट्न थालेका छन्। विपद्को यो कठिन घडीमा पीडितहरूलाई साथ दिन जुम्लाबाट खाद्यान्न, लत्ताकपडा तथा स्थानीय कृषि उपज संकलन अभियान तीव्र पारिएको छ।
‘जुगाड खोला सरसफाइ तथा समाज रूपान्तरण अभियान जुम्ला’को आयोजनामा सुरु भएको राहत संकलनको पहिलो दिन शुक्रबार मात्रै ४५ हजार रुपियाँ बराबरको राहत सामग्री संकलन भएको अभियानका संयोजक उपेन्द्र बुढथापाले जानकारी दिनुभयो। पहिलो दिन सदरमुकामस्थित कृष्ण मन्दिर अगाडि सञ्चालित अभियानमा १५ जना मनकारी दाताहरूले खाद्यान्न तथा कपडा हस्तान्तरण गरेका हुन्।
शनिबार कालीखोली र पातारासी गाउँपालिका–६ स्थित उर्थुमा पनि संकलन कार्यलाई निरन्तरता दिइएको छ। “दुःखको समयमा जुम्ली जनता रसुवाका बाढीपहिरो पीडितको साथमै छन् भन्ने सन्देश दिन यो अभियान थालेका हौँ,” संयोजक बुढथापाले भन्नुभयो, “स्थानीयवासीलाई खाद्यान्न र कपडाका साथै जुम्लामै उत्पादित कृषि उपजसमेत सहयोग गर्न आग्रह गरेका छौँ।”
यसैबीच, तातोपानी गाउँपालिकाले भने बाढीपहिरो प्रभावितका लागि जुम्लाको पहिचान बनेको ताजा स्याउ राहत स्वरूप पठाउने विशेष तयारी गरेको छ। स्याउ ढुवानी र व्यवस्थापनबारे छलफल अघि बढिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले राहत संकलन कार्यमा जिल्ला प्रशासन कार्यालयसँग पूर्ण समन्वय भइरहेको पुष्टि गर्नुभयो। यद्यपि, निरन्तरको वर्षा र पहिरोले सडक अवरुद्ध भएकाले संकलित सामग्री तत्काल प्रभावित क्षेत्रसम्म पुर्याउन कठिनाइ भइरहेको छ।
अवरुद्ध सडक सहज हुनासाथ संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा सिधै भोटेकोशीका प्रभावित क्षेत्रसम्म पुर्याउने योजना आयोजकको छ।






