राम प्रकाश बिक,हिमा, जुम्ला । हिमा गाउँपालिकामा मुख्य प्रतिपक्षको भूमिकामा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पालिकाका सबै वडा तथा बस्तीहरूमा लक्षित गर्दै ‘हिमा जनसंवाद अभियान’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। “समृद्ध हिमा, सुखी जनता – हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नाराका साथ आगामी २०८३ भदौ ६ गतेदेखि २०८३ फागुन ६ गतेसम्म सञ्चालन हुने गरी यो अभियान तय गरिएको छ।
नागरिकका आवाज, सुझाव, अपेक्षा र प्रश्नहरूलाई केन्द्रमा राखी खुला संवाद, सकारात्मक बहस र सहकार्यमार्फत समृद्ध हिमा निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। भुइँमान्छे (स्थानीय जनता) का गुनासा, आवश्यकता र समस्याहरूलाई प्रत्यक्ष सुनेर आगामी राजनीतिक यात्राको रणनीति बनाउने नेकपाको तयारी छ।



अभियानबारे स्पष्ट पार्दै नेकपा हिमा गाउँपालिकाका इञ्चार्ज अमर्जङ शाहीले भन्नुभयो,”जनताको नासो जनतालाई नै फिर्ता गर्ने र स्थानीय तहको शासकीय अभ्यासलाई पारदर्शी तथा जनमुखी बनाउने हाम्रो सङ्कल्प हो। हिमाको भौगोलिक विकटता, शैक्षिक सुधारका आवश्यकता र विद्यमान राजनीतिक परिवेशलाई यो अभियानले नजिकबाट चित्रण गर्नेछ। जनताको प्रत्यक्ष सहभागिता र रचनात्मक सुझावलाई आत्मसात् गर्दै अघि बढ्दा मात्रै समुन्नत र समृद्ध हिमा निर्माण सम्भव छ।”
१२ बुँदे प्रमुख संवाद तथा कार्यसूचि
अभियानअन्तर्गत पालिकाका हरेक वडा तथा बस्तीस्तरमा देहायका १२ विषयमा संवाद तथा अध्ययन सञ्चालन गरिने आयोजकले जनाएको छ:
स्थानीय सरकारका नीति, योजना र बजेट विनियोजनको समीक्षा।
प्रत्येक वडाका समस्या तथा प्राथमिकता संकलन।
बस्तीस्तरका वास्तविक आवश्यकताको पहिचान।
सामुदायिक विद्यालय र स्वास्थ्य चौकीको अवस्थाबारे छलफल।
कृषि, पशुपालन तथा किसानका समस्या सम्बोधन।
युवा लक्षित स्वरोजगार र उद्यमशीलताका सम्भावना।
सडक, बिजुली, खानेपानी तथा सिंचाई आयोजनाको अध्ययन।
महिला सशक्तिकरण र समावेशी सहभागिता।
स्थानीय सरकारका कामकारबाहीबारे नागरिक प्रश्नोत्तर।
अलपत्र वा अधुरा रहेका विकास निर्माणका आयोजनाको निगरानी।
अभियानपश्चात् संकलित तथ्य र सुझाव समेटिएको विस्तृत प्रतिवेदन प्रकाशन र पार्टी इतिहासका योगदानकर्ताहरूसँग परामर्श गर्ने नेकपाले जनाएको छ।
स्थानीयमा नयाँ आशा र उत्साह
जनताका जनजीविकाका सवाल, सार्वजनिक सेवा प्रवाहका त्रुटि र पूर्वाधार निर्माणका समस्यालाई प्रत्यक्ष उठान गर्ने यो अभियानले हिमामा नयाँ आशा र उत्साह जगाएको छ। गाउँपालिकाका युवा, बुद्धिजीवी, शिक्षक तथा शिक्षित वर्गले अभियानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।
स्थानीयस्तरमा सञ्चालन हुने यस जनसंवादले गाउँपालिकाभित्रका विकास निर्माण, शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा सकारात्मक दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।



