राम प्रकाश बिक,जुम्ला, २७ श्रावण । सदरमुकामका ठूला अस्पताल वा सहरका विशेषज्ञ चिकित्सकसम्म पुग्न नसकेर मानसिक समस्या लुकाएर बस्न बाध्य कर्णालीका ग्रामीण नागरिकहरूका लागि अब आफ्नै गाउँगाउँबाट मानसिक स्वास्थ्य सेवा प्राप्त हुने भएको छ। जुम्लामा प्राथमिक स्वास्थ्य संस्थास्तरमै मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य उपचार सेवा पहुँचयोग्य बनाउने उद्देश्यले प्राथमिक स्वास्थ्यकर्मीहरूका लागि ‘mhGAP Module 2B’ तालिम सम्पन्न भएको छ।
कर्णाली प्रदेश तालिम प्रतिष्ठान, कर्णाली प्रदेशको आयोजना, CBM Global को आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (सी.एम.सी-नेपाल) द्वारा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमको प्राविधिक सहयोगमा उक्त आवासीय तालिम सञ्चालन गरिएको हो।



प्राथमिक तहका २० जना स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि
तालिममा जुम्ला जिल्लाका तीन प्रमुख स्थानीय तह सिंजा गाउँपालिका, चन्दननाथ नगरपालिका, र गुठीचौर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था (हेल्थपोस्ट, प्राथमिक स्वास्थ्य केन्द्र) मा कार्यरत २० जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
विश्व स्वास्थ्य संगठन (WHO) को ‘mhGAP’ (मानसिक स्वास्थ्य अन्तरक्रियात्मक निर्देशिका) मा आधारित यस तालिमको मुख्य ध्येय स्थानीय स्तरमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सामान्यदेखि जटिल प्रकारका मानसिक स्वास्थ्य समस्या, डिप्रेसन, चिन्ता (Anxiety), कडा खालका मनोरोग तथा मनोसामाजिक समस्याहरूको समयमै पहिचान, प्रारम्भिक उपचार, प्रभावकारी मनोपरामर्श तथा आवश्यक परेमा प्रेषण (Referral) गर्न सक्षम बनाउनु रहेको छ।
”टाउको दुखेको उपचार हुने स्थानबाटै मनको उपचार”
भौगोलिक दुर्गमता, चेतनाको कमी र सामाजिक लाञ्छनाका कारण मानसिक समस्या भएका व्यक्तिहरू अझै पनि धामी-झाँक्रीकहाँ जाने वा रोग लुकाएर बस्ने बाध्यतामा छन्। यो तालिमसँगै स्थानीय स्वास्थ्य संस्थामा जाने नागरिकले शारीरिक रोगको मात्र होइन, मानसिक समस्याको पनि एउटै छानामुनि सहज उपचार र परामर्श पाउने बाटो खुलेको छ।
स्थानीय स्तरमा तालिम प्राप्त स्वास्थ्यकर्मीको उपस्थिति रहने भएपछि “जहाँ टाउको दुखेको साधारण औषधि पाइन्छ, त्यहीँ मनको पीडा बुझ्ने र उपचार गर्ने सेवा पनि उपलब्ध हुनेछ।” यसले मानसिक रोगलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याई समुदायस्तरमै मनोसामाजिक सहयोगको वातावरण बनाउन ठूलो मद्दत पुग्नेछ।
तालिम उद्घाटन तथा सञ्चालन सत्रमा मानसिक स्वास्थ्य र परामर्श क्षेत्रमा कार्यरत अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम संयोजक दिपक शर्मा, मनोचिकित्सक डा. दिपिका विधान, MEAL संयोजक सुमेश भट्टराई, मानसिक स्वास्थ्य संयोजक जागृति थापा, वकालत अधिकृत जितलाल ढकाल, सिनियर विद्यालय मानसिक स्वास्थ्य अधिकृत टंक तिमिल्सेना, मनोसामाजिक परामर्शकर्ता विष्णु मन्नी रPHSO Jumla अधिकृत सुरेश पन्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सहभागी विशेषज्ञहरूले ग्रामीण क्षेत्रमा मनोपरामर्श (Psychosocial Counselling) र प्राथमिक मानसिक उपचारको पहुँच पुर्याउन सके आत्महत्या दर न्यूनीकरण, पारिवारिक तनाव व्यवस्थापन, र सामाजिक जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुग्ने कुरामा जोड दिएका थिए।
लाञ्छना र विभेदको अन्त्य
मानसिक स्वास्थ्य समस्या कुनै ‘पाप’ वा ‘कमजोरी’ नभई शारीरिक रोगजस्तै उपचार सम्भव भएको स्वास्थ्य समस्या हो। स्थानीय स्तरमै मनोपरामर्श उपलब्ध हुँदा बिरामीहरू खुलेर आफ्ना समस्या भन्न सक्नेछन्।
मनोपरामर्शका माध्यमबाट व्यक्तिमा देखिएको मानसिक तनाव, निराशा र चिन्तालाई सुरुवाती अवस्थामै पहिचान गरी जटिल मानसिक रोग वा आत्महत्याको जोखिमबाट जोगाउन सकिन्छ।
सामान्य मानसिक परामर्श वा औषधिका लागि जिल्ला अस्पताल वा प्रदेश अस्पतालसम्म धाउनुपर्ने आर्थिक र भौतिक बोझबाट सर्वसाधारणले मुक्ति पाउनेछन्।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामा मात्र नभई समुदाय, विद्यालय र परिवारस्तरमा समेत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शलाई एकीकृत गर्ने यो कदमले जुम्लाका नागरिकहरूका लागि एक सुरक्षित, पहुँचयोग्य र समावेशी स्वास्थ्य व्यवस्थाको दरिलो आधार तयार गरेको छ।



