सागर पाजडी,जाजरकोट,भदौ २ । अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा परेका जाजरकोटका विपद् प्रभावितहरूलाई तत्काल अस्थायी आवास तथा राहत सामग्री वितरण गरिएको छ। पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भेरी नगरपालिकाका ३० घरधुरीलाई करिब ५ लाख ३४ हजार रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएको हो।
गत साउन ३० गतेदेखि परेको अविरल वर्षाले भेरी नगरपालिकाका वडा नं. १, २, ३ र ४ लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार बाढी र पहिरोका कारण ४ जनाको ज्यान गइसकेको छ भने २५ घरधुरीका मानिसहरू घाइते भएका छन्। हालसम्म करिब ३०० घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।



राहत पाएका भेरी नगरपालिका–२ रिसाङ (१५ घरधुरी) र वडा नं. ३ स्याला (१५ घरधुरी) लाभान्वित भएका छन्। भने लाभामित परिवारले त्रिपाल, भाँडाकुँडा, सरसफाइका सामान (हाइजिन किट) र ब्ल्याङ्केट लगायतका अस्थायी बसोबासका लागि अत्यावश्यक सामाग्री पाएका हुन्।
पाउने परिवारले लगभग ५ लाख ३४ हजार बराबरको सामग्री वितरण गरिएको हो।
वर्षाका कारण बस्ती नै जोखिममा परेका परिवारलाई तत्काल ओत लाग्ने ठाउँ र दैनिक गुजाराका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले यो राहत सामग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो।
पहिरोका कारण विस्थापित भएका बस्तीहरूमा अहिले खाद्यान्न, सुरक्षित बासस्थान, शुद्ध खानेपानी र औषधि उपचारको गम्भीर समस्या देखिएको छ। जोखिमपूर्ण क्षेत्रमा उद्धार तथा राहत वितरणको काम अहिले पनि निरन्तर जारी छ। स्थानीय प्रशासन, स्वयंसेवी संस्था र राहत निकायहरूले संकटको यस घडीमा थप सहयोगका लागि समन्वय गरिरहेका छन्।



