Sunday, August 23, 2026 | 10:44:56 PM

राम प्रकाश विक, जाजरकोट । धामीझाँक्री तथा झारफुकको बहानामा १४ वर्षीया नाबालिग बालिकामाथि कुटपिट गर्ने जाजरकोटका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं। ६ धुमा स्थित सार्वजनिक सडक खण्डमा गत असार ५ गते दिउँसो १ः०० बजे झारफुक गर्ने भन्दै ५९ वर्षीय हिराला चलाउनेले बालिकालाई हातमुक्काले निर्घात कुटपिट गरेका थिए। कुटपिटको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध र आक्रोश व्यक्त भएको थियो।
भिडियो भाइरल भएलगत्तै अनुसन्धानमा जुटेको प्रहरी टोलीले यही साउन २१ गते दिउँसो १६ः०० बजे आरोपी चलाउनेलाई उनकै गाउँ बारेकोट(६ बाट पक्राउ गरेको हो। पक्राउ परेका हिराला चलाउनेलाई जाजरकोट जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि पहिलो पटक ५ (पाँच) दिनको म्याद थप अनुमति लिइएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुधिर कुमार खड्काका अनुसार, घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ। अन्धविश्वास र झारफुकका नाममा बालकालिकामाथि हुने यस्ता हिंसाजन्य कार्य सह्य हुँदैन। अदालतबाट ५ दिनको म्याद अनुमति लिएर घटनाको थप सूक्ष्म अनुसन्धान भइरहेको छ, सूचना अधिकारी खड्काले बताउनुभयो।

के छ कानुनी सजायको व्यवस्था
यस प्रकारको कुटपिट र अन्धविश्वासमा आधारित हिंसामा मुलुकी अपराध संहिता, २०७४ र बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कडा सजायको व्यवस्था छ। बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार, ऐनको दफा ६६ ले बालबालिकालाई कुनै पनि बहानामा शारीरिक वा मानसिक यातना दिनु वा अभद्र व्यवहार गर्नुलाई गम्भीर अपराध मानेको छ। दफा ७२ को व्यवस्था अनुसार यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। साथै पीडित बालिकालाई क्षतिपूर्ति दिलाउने व्यवस्था समेत छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार, संहिताको दफा १६८ (अमानवीय वा अपमानजनक व्यवहार गर्न नहुने) अनुसार कसैलाई धामीझाँक्री वा अन्य कुनै बहानामा अमानवीय, अस्वाभाविक वा अपमानजनक व्यवहार गरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कडा कानुनी प्रावधान छ। प्रहरीले घटनाको पूर्ण अनुसन्धान गरी छिटै अदालतमा मुद्दा दर्ता गर्ने जनाएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोपछि स्थानीय प्रशासन र प्रहरीको यो कदमलाई सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय