Sunday, August 23, 2026 | 11:42:20 PM

राम प्रकाश विक, जुम्ला, साउन २५ गते। जुम्लाको गुठिचौर गाउँपालिकास्थित ऐतिहासिक सत्यवादी माध्यमिक विद्यालयको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम, प्रतिवेदन प्रस्तुति तथा शुभकामना आदानप्रदानसहित भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका लेखापाल चन्द्रप्रसाद पाण्डेले विद्यालयको समग्र अवस्था झल्काउने आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा सङ्घीय सरकार, गाउँपालिका अनुदान र विद्यालयको आन्तरिक स्रोत गरी कुल रु १,४६,९३,५९२ आय तथा राष्ट्रिय वाणिज्य बैंक, इन्भेष्टमेन्ट बैंक र अक्षयकोष लगायतका खातामा रहेको बचत रकमसमेत गरी कुल रु १,५३,०२,८८३.१६ बराबरको कुल बजेट प्रस्तुत गरिएको थियो। जसमध्ये विभिन्न प्रशासनिक, भौतिक निर्माण र छात्रवृत्ति शीर्षकमा कुल रु १,१५,१५,००८ खर्च भई बाँकी रकम सुरक्षित रहेको जानकारी दिइयो।
शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक पसाङले विद्यालयमा हाल बालविकासदेखि कक्षा १० सम्म कुल ३५४ जना (१९३ छात्रा र १६१ छात्र) विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउनुभयो। २०८२ को क्भ्भ् परीक्षामा सहभागी २४ जनामध्ये १४ जना नियमित र १० जना मौका परीक्षाबाट गरी कुल २४ जना उत्तीर्ण भएका छन्, जसमध्ये १ जना छात्राले गुठिचौर गाउँपालिकामै ३.६० प्लस (ब्+) न्एब् ल्याएर इतिहास रच्न सफल भएकी छन्। कक्षा १ देखि ८ सम्मको औसत सिकाई उपलब्धि (७०% भन्दा बढी) राम्रो रहे पनि कक्षा ९ र १० को सिकाई सुधारका लागि अभिभावकको रेखदेख र आन्तरिक परीक्षा प्रणालीलाई अझ व्यवस्थित बनाउनुपर्ने औँल्याइएको छ।
वडा अध्यक्ष वडा नं.४ एवं वि.व्य.स. अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष टिकादत्त न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई र यहाँसम्म पु¥याउने शिक्षकहरूलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “भोलिका दिनमा पनि यो विद्यालयको निरन्तर प्रगति हुँदै जाओस्। मेरो कुनै व्यक्तिगत स्वार्थ छैन र व्यवस्थापन समिति अध्यक्ष भएर मैले कुनै अवसर लिएको छैन। अब मेरो पदावधि सकिँदै छ, विद्यालयका लागि निष्पक्ष र राम्रो मान्छे चुन्नुहोला।“
गुठिचौर गाउँपालिका कार्यवाहक अध्यक्ष कमलबहादुर महतले विद्यालयको प्रगति प्रशंसायोग्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरिरहेको यो शिक्षण संस्था वास्तवमा आफैँमा एउटा ’संस्कृतिको पूजा गर्ने थलो’ हो। विद्यालयमा भौतिक संरचना बनिसकेका छन्, अब हामी सबै मिलेर शैक्षिक सुधारका लागि संक्षिप्त क्रान्ति नै अगाडि बढाउनुपर्छ।“ अभिभावकको भूमिकाबारे जोड्दै उहाँले भन्नुभयो, “छोराछोरीले नपढेको दोष शिक्षकलाई मात्र दिएर हुँदैन, अधिकांश समय बालबालिका आमाबुवाकै काखमा हुन्छन्। त्यसैले अभिभावकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ।“ साथै, विकृति–विसङ्गति हटाउने खालका जनचेतनामूलक तथा सांस्कृतिक सामग्री प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्दै उहाँले वडा नं. ५ को तर्फबाट विद्यालयलाई रु २५,००० सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा नं. १ का वडा अध्यक्ष तथा कायक्रमका विशेष अतिथि अर्जुनकुमार महताराले सत्यवादी मावि जुम्ला र गाउँपालिकाकै उत्कृष्ट विद्यालय रहेको प्रशंसा गर्दै उहाँले खुसी व्यक्त गर्नुभयो— “बजारका अरू विद्यालयमा हुनेखानेका छोराछोरी पढे पनि यस विद्यालयको मञ्चमा प्रथम, द्वितीय र तृतीय हुनेमा गरिब र दलित समुदायका ’शान्तिय नेपाली’ जस्ता बालबालिकाहरूको नाम सुन्दा म खुसीले गदगद भएको छु।“
उहाँले सोही अवसरमा विपन्न विद्यार्थी कार्यक्रमका लागि (वडा नं. १ बाट)ः रु ५०,०००, उत्कृष्ट दलित विद्यार्थी प्रोत्साहनका लागिः रु १०,००० र विएलईमा प्रथम हुने विद्यार्थीका लागि रु १०,००० प्रोत्साहनका लागि सहयोग र पुरस्कारको घोषणा गर्नुभयो ।
पूर्व वि.व्य.स. अध्यक्ष राजबहादुर अधिकारीले सत्यवादी माविको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँले भन्नुभयो, “यस सत्यवादी माध्यमिक विद्यालयले अहिलेसम्म शिक्षा दिएका कुनै पनि विद्यार्थी कमजोर छैनन्, उनीहरू उच्च तहसम्म पुगेर सफलता हासिल गरिरहेका छन्।“
स्थानीय देउडा, सांस्कृतिक र विद्यार्थीहरूको विविध प्रतिभा प्रदर्शनसहित सम्पन्न उक्त ५८ औँ वार्षिक उत्सवले विद्यालयको शैक्षिक गुणस्तर र अभिभावकीय दायित्वप्रति नयाँ चेतना र उत्साह जगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय