२०५८ साल भदौ ७ गतेको त्यो कालो बिहान डोल्पाको साविक माझफाल गाविस–५ ९हाल ठूलीभेरी नगरपालिका–५० का बासिन्दाका लागि कहिल्यै नबिर्सिने नराम्रो सपना बनेर आयो। बिहान करिब ५ बजेको थियो, चारैतिर शान्त वातावरणलाई एकाएक बन्दुकका आवाजहरूले थर्काए। तत्कालीन दुनै र सोलिगाडस्थित ब्यारकबाट आएको शाही नेपाली सेनाको टोलीले माओवादी कार्यकर्ताहरू बसिरहेको ठाउँलाई घेराबन्दी गरेर अन्धाधुन्ध गोली बर्सायो।
उक्त कारबाहीमा ८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए। मृत्यु हुनेहरूमा नारायण शर्मा, यामकुमारी खड्का ‘शिशिर’, रमा पुनमगर, सुनिल राना, र राजु बोहोरा ‘नमुना’ लगायतका योद्धा थिए।



घाइते अवस्थामै मरणान्तक भागदौड
त्यस भयावह घटनामा उर्मिला विश्वकर्मासहित हरिबहादुर ध्यार ‘नगेन्द्र’, शंकर विश्वकर्मा ‘राकेश’ र चन्द्रबहादुर रोकाय ‘निर्दोष’ गम्भीर घाइते भए। शरीरमा गोलीको चोट र रगतको भल बग्दाबग्दै पनि उनीहरूले ज्यान जोगाउन सफल भए।
उर्मिला विश्वकर्माका अनुसार सामाजिक न्याय, समानता, उत्पीडित वर्गको मुक्ति र गणतन्त्रको सपना बोकेर उनीहरू जनयुद्धको मैदानमा होमिएका थिए। “हामीले रगत, पसिना र अमूल्य जीवनको बाजी लगाएर यो देशमा गणतन्त्र र नयाँ व्यवस्था ल्यायौँ,” उनी भावुक हुँदै सम्झिन्छिन्। तर, २५ वर्ष बितिसक्दा पनि माझफालका सहिदहरूको बलिदानी र घाइतेहरूको त्याग अनुरूपको सामाजिक रूपान्तरण अझै पूर्ण हुन नसकेको उनको गुनासो छ।
माझफाल हत्याकाण्डको २५ वर्ष पुगेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर ९ह्० र युट्युब लगायतका माध्यममा उर्मिला विश्वकर्माको बलिदानी र योगदानको तीव्र चर्चा भइरहेको छ। विभिन्न अनलाइन समाचार तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले तत्कालीन घाइते तथा निष्ठावान् नेत्री उर्मिलालाई कर्णाली प्रदेश सरकारमा मन्त्री बनाएर सम्मान गर्नुपर्ने माग गरिरहेका छन्।
समावेशिता र न्यायको सन्देशस् जनयुद्धका क्रममा गम्भीर घाइते भएर पनि निरन्तर राजनीति र समाज सेवामा सक्रिय विश्वकर्मालाई राजकीय जिम्मेवारी दिँदा दलित, महिला र उत्पीडित समुदायमा सकारात्मक सन्देश जाने विश्लेषण गरिएको छ।
सहिद र घाइतेको सम्मानस् त्याग र बलिदानको जगमा उभिएको वर्तमान व्यवस्थामा साँचो अर्थमा घाइते र पीडितको प्रतिनिधित्व हुनुपर्ने भन्दै कर्णाली प्रदेशका नागरिक तथा नेता(कार्यकर्ताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन्।
२५ वर्षअघिको माझफालको त्यो रक्ताम्मे बिहानले दिएको चोट अझै उर्मिलाको शरीर र मनमा ताजा छ। गणतन्त्रका लागि आफ्नो जीवन हत्केलामा राखेर लडेका यस्ता योद्धाहरूलाई उचित सम्मान र अवसर दिनु नै माझफालका सहिदहरूप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।



