राम प्रकाश बि.क,जुम्ला, साउन १९ । गुठीचौर गाउँपालिकाले क्षेत्रभित्र उत्पादित स्याउको पहिचान, स्वाद र बजार साख जोगाउन प्राविधिक परीक्षण अनिवार्य गर्दै सख्त कदम चालेको छ। गाउँपालिकामा व्यावसायिक स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो क्रममा रहेको र मुख्य सिजन नजिकिँदै गर्दा अपरिपक्व (काँचो) स्याउ बजार पठाइने जोखिमलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय लिएको हो।
स्याउको गुणस्तर प्रमाणीकरण र निर्यात बजारीकरणलाई पारदर्शी बनाउन गाउँपालिकाले एक सूचना जारी गर्दै कृषि विकास शाखामा सूचीकृत भएका कृषक, व्यवसायी, समूह वा सहकारीलाई मात्र निर्यातको सिफारिस उपलब्ध गराउने जनाएको छ।



बगैँचामै पुगेर ‘रिफ्र्याक्टोमिटर’ परीक्षण गरिने
जिल्ला प्रशासन कार्यालय र जिल्ला कृषि विकास कार्यालयको समन्वयमा लागू गरिएको यो व्यवस्थाअनुसार अब प्राविधिक टोली प्रत्यक्ष किसानको बगैँचामै पुग्नेछ। कृषि विकास शाखाले Refractometer (रिफ्र्याक्टोमिटर) प्रविधिको प्रयोग गरी स्याउको गुलियोपना (Brix) र परिपक्वता परीक्षण गरेपछि मात्र निर्यात सिफारिस दिइनेछ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज देवकोटाका अनुसार जुम्ली स्याउको आफ्नै अर्गानिक पहिचान रहेकाले काँचो स्याउ बजारमा जाँदा यसको ब्रान्ड र किसानको आम्दानी दुवैमा असर पर्ने देखिन्छ। उहाँले भन्नुभयो,
”गुठीचौरमा स्याउ खेतीका लागि उपयुक्त हावापानी र ठूलो भूभाग रहेकाले यहाँको उत्पादनलाई उच्च गुणस्तरीय बनाएर बजारीकरण गर्नु हाम्रो प्राथमिकता हो। प्राविधिक रूपमा स्याउ पाकेको पुष्टि भएपछि मात्र सिफारिस दिइनेछ। यसले उपभोक्ताले स्वादिलो स्याउ पाउनेछन् भने किसानले पनि उचित मूल्य प्राप्त गर्नेछन्।”
१० दिनभित्र सूचीकृत हुन आह्वान
गाउँपालिकाले स्याउ बिक्री तथा निर्यात गर्न चाहने सम्पूर्ण कृषक, व्यवसायी, समूह तथा सहकारीहरूलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कृषि विकास शाखामा सूचीकृत भई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
तोकिएको समयसीमाभित्र दर्ता वा सूचीकृत नभई वा पूर्व-स्वीकृतिबिना स्याउ बिक्री-वितरण गर्दा पर्न जाने कुनै पनि समस्या वा नोक्सानीको जिम्मेवार स्वयं व्यवसायी हुने र कृषि विकास शाखा जवाफदेही नहुने गाउँपालिकाले स्पष्ट पारेको छ। गाउँपालिकाको यस कडाइले गुणस्तरीय र पाकेको जुम्ली स्याउ मात्र राष्ट्रिय बजारमा पुग्ने विश्वास लिइएको छ।



