Sunday, August 9, 2026 | 10:26:18 PM

राम प्रकाश वि.क, जुम्ला । “मानवताको सबैभन्दा ठूलो धर्म सेवा नै हो।” यो भनाइलाई जुम्लामा कार्यरत एक प्रहरी जवानले आफ्नै रगत दिएर पुनः पुष्टि गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत सहायक हवल्दार दीपक खत्री रातको समयमा ट्राफिक प्रहरी मात्र बनेनन्, एक सुत्केरी महिलाका लागि प्रत्यक्ष जीवनदाता साबित भए।

जयतपुरकी हिमाली सार्की सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन्। अचानक शल्यक्रिया वा जटिलताका कारण उनलाई तत्काल रगतको खाँचो पर्यो।

रातिको करिब ११ बजेको सुनसान रातमा उहाँलाई रक्तसञ्चार केन्द्रमा अभाव र तत्काल रक्तदाता नभेटिने अवस्था आयो । परिवारका सदस्यहरू आशा र निराशाको दोसाधमा अत्तालिरहेका थिए। सुत्केरीको ज्यान जोखिममा पर्दै गएका बेला यो खबर जुम्ला ट्राफिक प्रहरी कार्यालयमा पुग्यो।

खबर पाउनासाथ अस्पतालतिर दगुर्दै
सूचना पाउनेबित्तिकै सहायक हवल्दार दीपक खत्रीले एक पल पनि ढिलाइ गरेनन्। रातको विश्रामलाई पछाडि धकेल्दै उनी आफ्नै कार्यालयबाट सिधै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल पुगे।

उनले विना हिचकिचाहट तत्कालै रक्तदान गरे। समयमै रगत उपलब्ध भएपछि चिकित्सकहरूलाई उपचार अघि बढाउन सहज भयो र हिमाली तथा उनीबाट जन्मिएको बच्चा दुवैको ज्यान सुरक्षित भयो। “संकटको बेला पाएको यो रगत केवल रातो द्रव मात्र थिएन, एउटा परिवारका लागि नयाँ जीवनको आशा थियो।”

प्रहरीको दायित्व शान्ति सुरक्षा कायम गर्नुमा मात्र सीमित हुँदैन, नागरिकको जीवन रक्षाका लागि मर्न र बचाउन तयार हुनु पनि हो भन्ने ज्वलन्त उदाहरण खत्रीले प्रस्तुत गरेका छन्।

आफूले दिएको रक्तदानबारे सहायक हवल्दार दीपक खत्री भन्छन्,ूरक्तदान गर्न पाउँदा मनमा छुट्टै आत्मसन्तुष्टि मिल्छ। मेरो शरीरको केही थोपा रगतले कसैको अमूल्य जीवन बच्छ भने म जुनसुकै बेला, जस्तोसुकै अवस्थामा पनि रक्तदान गर्न सधैं तयार छु।

उल्लेखनीय छ, खत्रीले यसअघि पनि दर्जनौँ पटक आपतकालीन अवस्थाका बिरामीहरूलाई रक्तदान गरिसकेका छन्। एक अपरिचित नागरिकको ज्यान जोगाउन मध्यरातमा खटिएका दीपक खत्रीको यो कार्यको अहिले जुम्लाभरि व्यापक प्रशंसा भइरहेको छ। उनको यो सह्रानीय कदमले ुप्रहरी मेरो साथीु भन्ने नारालाई अक्षरशः चरितार्थ गरिदिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय