जुम्ला । घरका लागि ढुङ्गा फुटाउने क्रममा ढुङ्गाले च्यापिएर जुम्लामा एक युवकको दुःखद निधन भएको छ।
निधन हुनेमा जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडा निवासी २७ वर्षीय राजीव शाही रहेका छन्।



जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साउन १३ गते दिउँसो अन्दाजी १४:३० बजे आफ्नो घरका लागि ढुङ्गा फुटाउने क्रममा माथिबाट अचानक खसेको ढुङ्गाले च्यापेर शाही गम्भीर घाइते भएका थिए।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी नराकोट (क) बाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी नराकोट स्वास्थ्य चौकी पुर्याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको थियो।
प्रतिष्ठानमा उपचारकै क्रममा बेलुकी १७:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो।



