Sunday, August 23, 2026 | 10:42:56 PM

राम प्रकाश विक, जुम्ला, साउन १२ । दलीय निष्ठा बदलेर अर्को दल प्रवेश गर्दा स्थानीय जनप्रतिनिधिको पद नै गुम्छ भन्ने दृष्टान्त जुम्लाको गुठीचौर गाउँपालिकामा देखिएको छ। नेपाली कांग्रेसको ुरुखु चिन्हबाट गाउँपालिका अध्यक्षमा निर्वाचित दानबहादुर बुढाले दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेपछि उनको पद चट भएको छ।

सर्वोच्च अदालतले पुनःबहालीको माग गर्दै परेको रिट खारेज गरिदिएसँगै बुढाको अध्यक्ष पद सदाका लागि समाप्त भएको छ। सर्वोच्चको फैसलापछि अब गुठीचौर गाउँपालिकाको कार्यवाहक अध्यक्षका रूपमा उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले नेतृत्व सम्हाल्नुभएको छ।

कसरी गुम्यो पदः कानुनी पृष्ठभूमि
स्थानीय तह निर्वाचन ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार जुन दलको चुनाव चिन्हबाट उम्मेदवार भई निर्वाचित भएको हो, सोही दलको सदस्यता कायम रहनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ।
कानुनी प्रावधान
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१स् जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो व्यक्तिले सो दल त्याग गरेमा वा अर्को दलको सदस्यता लिएमा निर्वाचित पद स्वतः रिक्त हुन्छ। निर्वाचन आयोगको निर्णय बुढाले कांग्रेस छाडेर रास्वपा प्रवेश गरेपछि निर्वाचन कार्यालयले सोही ऐनको टेकेर उनको पद रिक्त भएको सूचना जारी गरेको थियो।

आफ्नो पद जोगाउन बुढा सर्वोच्च अदालत पुग्नुभएको थियो। तर, सर्वोच्च अदालतले कानुनी प्रक्रिया र दल त्यागसम्बन्धी स्पष्ट प्रावधानलाई ध्यानमा राख्दै उनको रिट खारेज गरिदियो। फैसलासँगै गाउँपालिकामा उनको पुनरागमनको ढोका पूर्ण रूपमा बन्द भएको छ।

अध्यक्षको पद रिक्त भएसँगै उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी कार्यवाहक अध्यक्षको रूपमा गाउँपालिकाको कमान सम्हाल्न अघि बढ्नुभएको छ। गाउँपालिकामा नेतृत्व शून्यता आउन नदिन र विकास निर्माणका कामलाई निरन्तरता दिन उहाँले जिम्मेवारी सम्हाल्नुभएको हो।

ूकानुनी र अदालती प्रक्रियाका कारण पालिकामा केही समय अन्योल सिर्जना भएको सत्य हो। तर अब अदालतको स्पष्ट फैसला आइसकेकाले कुनै अलमल छैन। संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्दै गुठीचौरबासीको सेवामा म निरन्तर खट्नेछु। रोकिएका विकास निर्माणका काम, बजेट कार्यान्वयन र नागरिकका दैनिक सेवा प्रवाहलाई थप चुस्त बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ। पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई मिलाएर अघि बढ्छु।ू

नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष जितेका बुढाको पद गुमिसकेपछि स्थानीय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। उता, उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि पालिकाको आगामी बजेट, नीति तथा कार्यक्रम र दैनिक प्रशासनिक कामकाजले गति लिने अपेक्षा गुठीचौरबासीले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय