जुम्ला, ११ साउन । जुम्ला प्रहरीले लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। तातोपानी गाउँपालिका–६ ऐरेनीबाट ६०० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित स्थानीय एक युवकलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा तातोपानी गाउँपालिका वडा नं. ६ धौलापानी बस्ने २९ वर्षीय अमर सार्की रहेका छन्।



जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, साउन १० गते दिउँसो १२:०० बजेको समयमा ऐरेनी इलाकामा प्रहरी टोली गस्तीमा खटिएको थियो। सो क्रममा शंकास्पद रूपमा हिँडडुल गरिरहेका सार्कीलाई फेला पारी रीतपूर्वक शरीर खानतलासी गर्दा उनको साथबाट लागुऔषध (चरेश) जस्तो देखिने कालो पदार्थ बरामद भएको हो।
उक्त बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा नापतौल गर्दा शुद्ध तौल ६०० मिलिग्राम (छ सय मिलिग्राम) रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नका लागि सम्मानित जिल्ला अदालत जुम्लाबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर गहन अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभएको छ।



