Monday, August 24, 2026 | 2:38:03 AM

राम प्रकाश बिक, ​जुम्ला, ११ साउन । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा आँगनमा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको छ।

​जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडा बस्ने पदम भण्डारीका २२ वर्षीय छोरा सन्त बहादुर भण्डारीको उपचारका क्रममा नेपालगञ्ज न्यूरो मेडिकलमा मृत्यु भएको हो।

​प्रहरीका अनुसार गत साउन ६ गते राति करिब ९:०० बजे सन्त बहादुर भण्डारी आफ्ना साथीहरू—२१ वर्षीय अनिल भण्डारी, १८ वर्षीय गोपाल सार्की र ३३ वर्षीय जीवन बुढासँगै मापसे (मादक पदार्थ सेवन) गरी अनिल भण्डारीको घरमा सुतेका थिए।

​भोलिपल्ट साउन ७ गते बिहान ८:०० बजेको समयमा सन्त बहादुर भण्डारी घरको आँगनमा अचेत (बेहोस) अवस्थामा फेला परेका थिए। उनको नाक र मुखबाट रगत बगिरहेको अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो।

​जुम्लामा उपचार सम्भव नभएपछि र अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज न्यूरो मेडिकलमा लगिएको थियो। उपचाररत भण्डारीलाई आज साउन ११ गते बिहान ९:०० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिएका छन्।

​घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय