Sunday, August 9, 2026 | 11:22:18 PM

राम प्रकाश बि.क,जुम्ला साउन ८ गते । ​’दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८३’ जुम्लामा भदौ ७ गतेदेखि सञ्चालन हुने भएको छ। ​राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले शुक्रबार सदरमुकाममा पत्रकार सम्मेलन गरी भदौ १६ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको हो।

​महोत्सवका लागि प्रशासनिक तथा कानुनी प्रक्रियाहरू पूरा भइसकेको प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर ५ को सिफारिसका आधारमा शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालय जुम्लासँग आवश्यक समन्वय भइसकेको छ।

​प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं महोत्सव संयोजक कर्णबहादुर बुढ्थापाले नयाँ भवन व्यवस्थापन र पूर्वाधार विकासका लागि कोष जुटाउन महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो। गत वर्षका कमीकमजोरी सच्याउँदै यसपटक स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने उहाँको भनाइ छ।

​उद्योग वाणिज्य संघले पनि सोही अवधि आसपास महोत्सव गर्ने चर्चा चलेका बेला, प्रतिष्ठानले आफूले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकेकाले यस वर्ष आयोजनामा सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरेको छ।

​’राष्ट्रको गौरव तथा पहिचान, लोककला संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवलाई सफल बनाउन प्रतिष्ठानले स्थानीय तह, व्यवसायी, सञ्चारकर्मी र आम नागरिकसँग सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय