शिक्षक विमल आचार्यले अध्यायन गराई रहेको तस्वितः धर्मलाल प्याकुरेल
त्यस दिन सिँजा उपत्यकामा चिसो सिरेटो चलिरहेको थियो। सिँजा गाउँपालिका–२, चुलेलगाउँ (साविक धापा गाविस वडा नं. ९) को एउटा कुनामा बुवा कृष्णभक्त आचार्यको काखमा एउटा शिशु रोइरहेको थियो। बालकको आँखामा संसार हेर्ने तिर्सना त थियो, तर ती ससाना आँखाहरूमा उज्यालोको एउटा सानो किरण पनि छिर्न सकिरहेको थिएन। जन्मजात न्यून दृष्टिविहीन ती बालक अर्थात्— बिमल आचार्य।
त्यतिबेला न गाउँमा अपाङ्गता भएका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय थियो, न त उपचारका लागि काठमाडौँ वा नेपालगञ्जसम्म पुग्न सक्ने पारिवारिक आर्थिक हैसियत नै। अरू साथीहरू आँगनमा दौडिँदा, कखरा सिक्दा बिमल भने आफ्नै घरको अँध्यारो चौघेराभित्र कतै टोलाइरहेका हुन्थे। उनको औपचारिक शिक्षाको सुरुवात नै निकै ढिला भयो। समाजले भन्थ्यो, “यो त बोझ भयो, यसले भविष्यमा के गर्ला र ?” तर, बुवा कृष्णभक्तको मनले समाजको त्यो कुरा स्वीकार्न तयार थिएन।



भैरव माविको त्यो छात्रावासः जहाँ अक्षरहरूले ’स्पर्श’ पाए
बिमलको जीवनमा सबैभन्दा ठुलो परिवर्तन तब आयो, जब उनलाई सिँजाकै श्री भैरव माध्यमिक विद्यालय, नराकोटमा सञ्चालित दृष्टिविहीन छात्रावासमा भर्ना गरियो। त्यहाँ पुगेपछि उनले ब्रेल लिपी र स्पर्शका माध्यमबाट संसारलाई पढ्न थाले।
उहाँलाई अक्षराम्भ गराउने र बाल्यकालमा औँला समातेर हिँडाउन सिकाउने सोही विद्यालयका शिक्षक दत्तबहादुर बुढा पुरानो दिन सम्झँदै भावुक बन्नुहुन्छ, “बिमलमा सानैदेखि एउटा अचम्मको जिद्दीपन थियो। अरूले जे सक्छन्, म पनि त्यो गरेरै छाड्छु भन्ने। पुस्तक र सामग्रीको चरम अभावका बिच पनि उसले जसरी रातरातभर ब्रेलका अक्षरहरू सुम्सुम्याएर ज्ञानको भोक मेटायो, त्यो हेर्न लायक थियो। आज उनी राष्ट्रको स्थायी शिक्षक बनेको देख्दा मेरो छाती गर्वले चौडा भएको छ।”
भैरव माविबाट एसईई उत्तीर्ण गरेपछि बिमलको अगाडि उच्च शिक्षाको पहाड उभियो। पहाडको विकट गाउँ छाडेर उनी तराईको कोहलपुर झरे।
रत्न राजमार्गका ती ‘ठक्करहरू’ र राजमार्गभन्दा बलियो अठोट
कोहलपुरमा प्लस टु पढ्दाको समय बिमलको जीवनकै सबैभन्दा अग्निपरीक्षा थियो। घरदेखि कलेजसम्म पुग्न पैदल आधा घण्टा लाग्थ्यो। व्यस्त नेपालगञ्ज–रत्न राजमार्गको बाटो। कानै फुट्ला जस्तै गरी बज्ने गाडीका हर्नहरू, रफ गुड्ने अटो र ट्रकहरू।
त्यो समय सम्झँदै बिमल आचार्य भन्नुहुन्छ,“म कति पटक हिँड्दाहिँड्दै सडकका बिजुलीका पोलहरूमा ठोक्किएँ, कति पटक गुडिरहेको अटोसँग ठोक्किएर सडकमै बजारिएँ, त्यसको कुनै हिसाब छैन। एक दिन त म बाटो ठम्याउन नसकेर सिधै सडक छेउको गहिरो नालीमा खसेँ। वरपरका मान्छेहरू कराए, कोही हतारहतार मलाई उठाउन आए। कपडाभरि हिलो थियो, शरीर निलडामले दुखिरहेको थियो। तर, मैले मनमनै भनेँ— बिमल, तिमी आज नालीमा खस्यौ भन्दैमा तिम्रो सपना नालीमा खस्नु हुँदैन। तिमीले उठ्नैपर्छ।”
हो, ती हरेक शारीरिक ठक्करहरूले उनको शरीरमा चोट त दिए, तर उनको मानसिक अठोटलाई झन् बलियो बनाउँदै लगे। २०७७ सालमा कोहलपुरबाट प्लस टु उत्तीर्ण गरेपछि उनी पुनः आफ्नै गृहजिल्ला फर्किए र जुम्ला बहुमुखी क्याम्पसमा भर्ना भए। अध्ययनलाई निरन्तरता दिँदै २०७९ सालमा अध्यापन अनुमति पत्र (लाइसेन्स) नाम निकालेका बिमलले २०८० साल चैत्र २६ गते इतिहास नै रचे उनी लोकसेवा÷शिक्षक सेवा आयोग उत्तीर्ण गरेर श्री माध्यमिक विद्यालय बुढोचौतारा, कनकासुन्दरी–३ मा स्थायी शिक्षकका रूपमा नियुक्त भए।
आवाजबाटै विद्यार्थी चिन्ने शिक्षक
आज जुम्लाको कनकासुन्दरीस्थित बुढोचौतारा माध्यमिक विद्यालयको एउटा कक्षाकोठामा पुग्ने हो भने अचम्मको दृश्य देख्न पाइन्छ। शिक्षक बिमल आचार्य ब्ल्याकबोर्ड अगाडि उभिनुहुन्छ। उहाँसँग हातमा हेर्नका लागि किताब वा कापी हुँदैन। तर, उहाँको मस्तिष्कमा सिङ्गो पाठ्यक्रम कण्ठस्थ हुन्छ।
बिमल विद्यार्थीहरूको गृहकार्य (ज्यmभधयचप) मौखिक रूपमा लिनुहुन्छ। उहाँ विद्यार्थीलाई पालोपालो प्रश्न सोधेर उत्तर सुनाउन लगाउनुहुन्छ र कुन विद्यार्थीले कति बुझ्यो भन्ने कुरा उनीहरूको प्रस्तुतिबाटै थाहा पाउनुहुन्छ।
कक्षा कोठामा को विद्यार्थी कहाँ बसेको छ, बिमललाई सबै कण्ठ हुन्छ। विद्यार्थीले एउटा शब्द बोल्ने बित्तिकै उहाँ भन्नुहुन्छ, “हो, तिमी श्याम हौ, तिम्रो उत्तर सही छ” वा “सिता, तिम्रो ध्यान कता छ?” आवाजकै लय चिनेर उहाँ विद्यार्थीको मनोविज्ञान बुझ्नुहुन्छ।
कक्षामा कोही न्यून दृष्टियिहीन वा अन्य कुनै अपाङ्गता भएका विद्यार्थी छन् भने बिमल उनीहरूलाई सधैँ पहिलो बेन्चमा, आफ्नो नजिकै राख्नुहुन्छ। आफूले भोगेको पीडा अरू कसैले भोग्नु नपरोस् भनेर उनीहरूलाई विशेष स्नेह र अतिरिक्त समय दिएर सिकाउनुहुन्छ।
बुवाको त्यो सपना, जुन आज साकार भयो
यो लामो र कहालीलाग्दो सङ्घर्षमा बिमलका बुवा कृष्णभक्त आचार्यको भूमिका कुनै पर्खाल जस्तै बलियो रह्यो। छोरालाई पढाउनकै लागि उनले आफ्नो जीवनको सम्पूर्ण कमाइ, पसिना र सुखहरू तिलाञ्जली दिएका थिए।
“म आज जहाँ छु, जस्तो छु, केवल मेरो बुवा र परिवारको निःस्वार्थ मायाका कारण छु,” बिमल भावुक हुँदै भन्नुहुन्छ, “बुवाले मेरो भविष्य अन्धकार नहोस् भनेर आफ्नो जीवनको उज्यालो दाउमा लगाउनुभयो। मैले सधैँ मनमा एउटै कुरा खेलाउँथेँ— बुवाको यो लगानी, यो आँसु र यो दुःख म मरेर पनि खेर जान दिने छैन। आज म कक्षाकोठामा उभिँदा मेरो बुवाको शिर समाजमा उच्च भएको छ, मेरो लागि योभन्दा ठुलो सम्पत्ति अरू केही छैन।”
नीति कागजमा बन्यो, व्यवहारमा कहिले बन्ने
एउटा सफल शिक्षक बनिसकेपछि पनि बिमलका चुनौतीहरू सकिएका छैनन्। राज्यले अपाङ्गतामैत्री संरचना र ऐन कानुन त बनाएको छ, तर व्यवहारमा अझै पनि सरकारी कार्यालय, सडक र सार्वजनिक यातायात अपाङ्गतामैत्री छैनन्।
आफ्नो सङ्घर्षबाट सिंगो समाजलाई सन्देश दिँदै शिक्षक बिमल आचार्य भन्नुहुन्छ,“म जस्तै दृष्टिविहीन वा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई यो समाजले ‘बोझ’ वा ‘बिचरा’ को नजरले हेर्न बन्द गर्नुपर्छ। हामी दयाका पात्र होइनौँ, अवसर पाए समाज बदल्ने उज्यालो हौँ। केवल आफूभित्रको क्षमतालाई चिन्नुस्, एउटा लक्ष्य निर्धारण गरेर दृढ संकल्पका साथ लाग्नुस्, सफलता एक दिन अवश्य तपाईँको कदम चुम्न आउनेछ।”
दृष्टि नभए पनि ज्ञान र चेतनाको आँखाले सिङ्गो पुस्तालाई उज्यालो पारिरहेका बिमल आचार्यको यो महागाथा सिँजा उपत्यकाको चिसो सिरेटोबाट सुरु भएर आज देशैभरिका सङ्घर्षशील मनहरूका लागि एउटा बलियो ऊर्जा बनेको छ।
लेखकः धर्मलाल प्याकुरेल (रेडियो सिँजाखोला, जुम्लामा कार्यरत हुनुहुन्छ)



