जुम्ला  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान समानुपातिक सांसद बिनिता कठायत पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी छन्। केन्द्रीय सदस्यमा विजयी भएपछि उनले आफूलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि तथा पार्टीका साथीहरू प्रति हृदयदेखि नै हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेकी छन्।

​पार्टीभित्र बलियो भरोसा जित्दै केन्द्रीय समितिमा चुनिएकी नेता कठायतले यो जित आफ्नो व्यक्तिगत मात्र नभएर सम्पूर्ण शुभचिन्तकहरूको विश्वास र अपेक्षाको जित भएको बताएकी छन्।

गुठीचौर गाउँपालिका ५ को सुचना

चुनौती चिर्दै संगठनको यात्रा

आफ्नो राजनीतिक यात्राको सुरुवाती दिनहरू स्मरण गर्दै उनले भनिन्, “मैले राजनीति र संगठनको यात्रा सुरु गर्दा धेरै कुरा नयाँ थिए। अनुभव कम थियो, सिक्नुपर्ने धेरै थियो। बीचमा केही चुनौती र निराशाका क्षण पनि आए, तर मैले कहिल्यै हार मानेनँ। सिक्दै, बुझ्दै र अघि बढ्दै आज यहाँसम्म आइपुगेकी छु।”

​उनले मतदाता र शुभेच्छुकहरूले ममाथि गरेको विश्वास र मायालाई जीवनभर कहिल्यै नबिर्सने भावुक प्रतिबद्धता समेत जनाएकी छन्।

कर्णाली र देशको हितका लागि समर्पण

भौगोलिक रूपमा विकट र अवसरका हिसाबले पछि पारिएको कर्णालीको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति जनाएकी कठायतले आगामी दिनमा आफ्नो क्षेत्र र देशका लागि अझ सक्रिय रहने संकल्प गरेकी छन्।

​अब प्राप्त भएको नयाँ जिम्मेवारीलाई पूर्ण इमानदारी, निष्ठा र समर्पणका साथ निर्वाह गर्ने बताउँदै उनले भनिन्, “मेरो जन्मभूमि कर्णाली, राष्ट्रिय स्वतन्त्र पार्टी, र सम्पूर्ण देशको हितका लागि सधैं सक्रिय भएर काम गर्नेछु। तपाईंहरूले ममाथि गर्नुभएको विश्वासलाई परिणाममा बदल्ने मेरो प्रयास निरन्तर रहनेछ।”

​आफ्नो सन्देशको अन्त्यमा ‘जय घण्टी’ भन्दै उनले सम्पूर्ण प्रतिनिधि र सहयात्रीहरूलाई पुनः धन्यवाद दिएकी छन्। नयाँ कार्यसमितिमा उनको प्रवेशसँगै रास्वपाभित्र कर्णाली र युवा पुस्ताको आवाज अझ बलियो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय