जुम्ला, जेष्ठ २३ गते । जुम्लाको हिमा गाउँपालिकामा सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यका साथ अत्याधुनिक प्रशासनिक भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। यो भवन निर्माण सुरु भएसँगै स्थानीयवासीमा खुसीयाली छाएको छ भने गाउँपालिकाले विकासको एउटा नयाँ र ऐतिहासिक अध्याय प्रारम्भ गरेको छ।
जनहितकारि सुचना



कुल ८ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको यस गौरवको योजनाका लागि निर्माण व्यवसायीसँग भ्याटसहित ६ करोड २१ लाख रुपैयाँमा सम्झौता गरिएको छ। निर्माण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको गाउँपालिकाका इन्जिनियर तोरण खड्काले जानकारी दिए। उनका अनुसार, सम्झौताअनुसार २०८४ साल असार मसान्तभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ।
निर्माण हुन लागेको भवन चारतले हुनेछ, जहाँ गाउँपालिकाका सबै शाखा तथा सेवा केन्द्रहरू एकै स्थानमा एकीकृत हुनेछन्। हाल विभिन्न स्थानमा छरिएर रहेका कार्यालयहरू एउटै भवनमा सञ्चालन भएपछि सेवाग्राहीले लामो समय कुर्नुपर्ने र भौंतारिनुपर्ने समस्याबाट मुक्ति पाउनेछन्।
नयाँ भन्न लागेको भवनमा अत्याधुनिक कार्यकक्षहरू, विशाल बैठक हल, आधुनिक अभिलेख व्यवस्थापन कक्ष (Archives) प्रविधिमैत्री प्रशासनिक सुविधाहरू हुने भएका छन्।
भवन निर्माण कार्यलाई गाउँपालिकाको दीर्घकालीन विकास यात्राको महत्वपूर्ण कोशेढुंगाका रूपमा लिइएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले यो भवन केवल भौतिक संरचना मात्र नभई सुशासन र नागरिकप्रतिको उत्तरदायित्वको प्रतीक हुने बताए।
अध्यक्ष शाहीले भने, “स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको साथी हो। नागरिकलाई सहज, छरितो र गुणस्तरीय सेवा दिन व्यवस्थित भौतिक पूर्वाधार अनिवार्य छ। यो भवन निर्माणसँगै हाम्रो सेवा प्रवाहमा नयाँ ऊर्जा थपिनेछ।” साथै, उनले निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउँदै स्थानीय समुदायलाई निरन्तर खबरदारी र सहकार्यका लागि आग्रह गरेका छन्।
प्रशासनिक भवन निर्माण सुरु भएपछि स्थानीयवासी निकै उत्साहित छन्। सेवा लिनका लागि सास्ती खेप्नुपर्ने दिन अन्त्य हुने र गाउँपालिकाको प्रशासनिक क्षमता अभिवृद्धि भई स्थानीय तहप्रतिको जनविश्वास थप मजबुत हुने उनीहरूको अपेक्षा छ।
सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको आधारस्तम्भका रूपमा हेरिएको यो भवन निर्माण कार्य सम्पन्न भएपछि हिमा गाउँपालिकाको कार्यशैली थप प्रविधिमैत्री र चुस्त-दुरुस्त हुने विश्वास गरिएको छ।





