जुम्ला, १२ जेठ । कर्णालीमा महिनावारीका नाममा हुने सामाजिक विभेद र कुसंस्कार अन्त्यका लागि सञ्चारकर्मीहरूको भूमिका विषयक दुई दिने छलफल कार्यक्रम जुम्लामा सम्पन्न भएको छ। सामाजिक अभियान्ता राधा पौडेलको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा महिनावारीलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाबारे गहन बहस भएको छ।
कार्यक्रममा अभियान्ता पौडेलले महिनावारीलाई अन्धविश्वास, अपवित्रता र लाजको विषयका रूपमा हेर्ने सोच नै महिलामाथिको संरचनात्मक विभेदको मूल आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “महिनावारी एउटा प्राकृतिक जैविक प्रक्रिया हो। यसलाई अशुद्धता वा निषेधसँग जोडेर गरिने व्याख्या वैज्ञानिक र मानवअधिकारको दृष्टिले स्वीकार्य छैन। त्यसैले अब समाजको सोच, व्यवहार र भाषिक संरचनामा नै रूपान्तरण आवश्यक छ।”
जनहितकारि सुचना



उहाँले केवल स्यानिटरी प्याड वितरण गरेर मात्र महिनावारीको समस्या समाधान नहुने भन्दै सञ्चारमाध्यम, विद्यालय, परिवार र स्थानीय सरकारले समन्वयात्मक रूपमा दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व अध्यक्ष नेत्रबहादुर शाहीले मर्यादित महिनावारी महिलाको शिक्षा, स्वास्थ्य र आत्मसम्मानसँग जोडिएको गम्भीर मुद्दा भएकाले यसका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताउनुभयो। उहाँले समाज रूपान्तरणका लागि सञ्चारकर्मीहरूले थप जिम्मेवार भएर कलम चलाउनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, सहभागी सञ्चारकर्मी दिलमाया शाहीले महिनावारी विभेद अन्त्यको अभियान घरबाटै सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले किशोरी र युवा समूहलाई परिचालन गर्दै सम्मानजनक शब्दको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
दुई दिने छलफलबाट सहभागी सञ्चारकर्मीहरूले मर्यादित महिनावारीका लागि ११ बुँदे साझा प्रतिबद्धता समेत सार्वजनिक गरेका छन्। जसमा नीति तहमा सचेतना, विद्यालयको पाठ्यक्रममा समावेश गर्ने पहल, स्थानीय तहमा बजेटको सुनिश्चितता, निरन्तर र जिम्मेवार रिपोर्टिङ तथा घरपरिवारबाटै विभेद अन्त्य गर्ने लगायतका बुँदाहरू समावेश छन्। ✍️राम प्रकाश विक





