गुठीचौर, जुम्ला १८ जेठ । गुठीचौर गाउँपालिकामा आजदेखि ‘पोषण सप्ताह’ औपचारिक रूपमा सुरु भएको छ। १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त सप्ताहको एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले उद्घाटन गर्नुभएको छ।
सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यक्ष मल्ल भण्डारीले स्वस्थ नागरिक निर्माणका लागि पोषणको भूमिका अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको विकास हुन्छ। त्यसैले, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई पोषणयुक्त खानेकुराको महत्त्व बुझाउन र खानपानमा सुधार ल्याउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
जनहितकारि सुचना



कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष मन बहादुर महतले पोषणसम्बन्धी सचेतना गाउँ-गाउँ र टोल-टोलमा पुग्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय स्तरमै पाइने पोषणयुक्त खानेकुराको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पोषण शाखाद्वारा आयोजित उक्त कार्यक्रममा शाखा प्रमुख जग्गी प्रसाद धितालले सप्ताहभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। उहाँले भन्नुभयो, “हामीले १८ देखि २४ गतेसम्म प्रत्येक दिन विभिन्न शाखासँगको सहकार्यमा पोषणसम्बन्धी विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछौँ। यसले समुदायमा पोषणको स्तर सुधार गर्न सहयोग गर्ने अपेक्षा लिएका छौँ।”
उद्घाटन कार्यक्रममा वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, शिक्षक, विद्यालयका प्रतिनिधिहरू तथा बाल क्लबका अध्यक्षहरूको उपस्थिति रहेको थियो। पोषण शाखाले प्रदान गरेको जानकारीअनुसार, साताव्यापी रूपमा सञ्चालन हुने यी कार्यक्रमहरूले समुदायमा पोषणको महत्त्वबारे व्यापक सन्देश प्रवाह गर्ने लक्ष्य राखेका छन्।








