राम प्रकाश बिक,
सुर्खेत/जुम्ला । सिँजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले कर्णाली प्रदेश सरकार र प्रदेश योजना आयोगले केन्द्र सरकारसमक्ष पेस गर्ने योजना तथा निर्णयहरूमा जुम्ला जिल्लालाई बेवास्ता गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
जनहितकारि सुचना



कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरूको उपस्थितिको सन्दर्भमा अध्यक्ष धितालले जुम्लाको विकास र पहिचानलाई ओझेलमा पार्ने काम भइरहेको आरोप लगाएका हुन्। उनले प्रदेश सरकारले जुम्लाको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक महत्त्वलाई बेवास्ता गर्दै बारम्बार जुम्ला शब्द नै नपर्ने गरी निर्णय गरिनु आपत्तिजनक रहेको बताएका छन्।
प्रदेश सरकारले जुम्लाको समृद्धिका लागि तत्काल सम्बोधन गर्नुपर्ने भन्दै अध्यक्ष धितालले १० बुँदे माग र सुझावहरू अघि सारेका छन्।
अध्यक्ष धितालले अघि सारेका मुख्य मागहरू
खस साम्राज्यको इतिहास स्मरण गर्दै सिँजा र दुल्लुलाई प्रदेश सरकारको मौसमी राजधानीका रूपमा सञ्चालन गर्ने अभ्यास सुरु गर्नुपर्ने।
दुई दिन (शनिबार र आइतबार) को बिदाले सेवा प्रवाहमा प्रतिकूल प्रभाव पारेकाले सो निर्णय सच्याउनुपर्ने।
सिँजामा प्रादेशिक रणनीतिक अस्पताल तत्काल स्थापना हुनुपर्ने र निर्माणाधीन सिँजा बहुप्राविधिक शिक्षालयको भवन निर्माणका लागि तत्काल बजेट विनियोजन गरी पठनपाठन सुरु गरिनुपर्ने।
जुम्ला–सुर्खेत दैनिक हवाई सेवा सञ्चालनका लागि केन्द्र सरकार र निजी हवाई कम्पनीसँग प्रदेश सरकारले पहल गर्नुपर्ने।
प्राविधिक कारण देखाउँदै गत वर्ष रोकिएका कनकासुन्दरी र सिँजा गाउँपालिकाका करोडौँका विकास आयोजनाको क्षतिपूर्तिसहितको रकम तत्काल निकासा गरिनुपर्ने।
महावुदेखि पादमघाटसम्म सुरुङ मार्गको अध्ययन थालिनुपर्ने र ‘नाथ सर्किट’ (चन्दननाथ, छायानाथ, खार्पुनाथ, जगत्नाथ, मुक्तिनाथ लगायत) को अवधारणालाई अगाडि बढाउनुपर्ने र सिँजा सभ्यता र मस्टो संस्कृतिको अनुसन्धानका लागि बजेट विनियोजन गर्नुपर्ने तथा सिँजा सभ्यता खस संग्रहालय सञ्चालन गर्नुपर्ने लगायतका माग राख्नुभएको छ।
अध्यक्ष धितालले यी मागहरू जुम्लाको मात्र नभई समग्र कर्णालीको गौरव र समृद्धिसँग जोडिएको उल्लेख गर्दै आर्थिक मामिला मन्त्रालयसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। कर्णाली प्रदेशले जुम्लालाई विभेद नगरी समानुपातिक विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ।





